घोराही, ८ भदौ । सधैँ विद्यार्थी अध्यापनमा व्यस्त हुने शिक्षकहरु शुक्रवार निकै फरक शैलीमा देखिए । संघीय शिक्षक सेवा आयोजको व्यवस्था, शिक्षकहरुको आवधिक बढुवा, राहत शिक्षकलाई दरबन्दीमा रुपान्तरण, शिक्षक काउन्सिलको व्यवस्था, गोल्डेन ह्यान्ड चेकको सुविधा लगायतका मागहरु राख्दै विरोधमा उत्रिएका उनीहरु आज विद्यालय पोशाकसँगै सकड तताउँदै थिए । सबैका हात–हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड थिए भने मुख–मुखमा सिठ्ठी । जतिबेला दिउँसोको करिव साढे एक बजिसकेको थियो । शिक्षा विभाग तथा समन्वय समिति ईकाइ दाङको प्राङ्गणबाट शुरु भएको शिक्षकहरु सिठ्ठी जुलुस बजार परिक्रममा गर्दै घोराहीको तुलसीपुर चोकमा कोणसभा गरी सम्पन्न भएको थियो ।

कोणसभामा बोल्दै नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य उद्धव न्यौपानेले सरकारले शिक्षाको क्षेत्रको समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभयो । समाज बदल्ने शिक्षकलाई राज्यले माग्नेका रुपमा हेरिरहेकाले राज्यले शिक्षा र शिक्षकको समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मुलुक संघीय संरचनासँगै नयाँ नीति व्यवस्थामा फेरिए पनि शिक्षाको व्यवस्था पुरानै रहेकाले राज्यले शिक्षा व्यवस्था तथा नीति नियमलाई पनि फेर्नुपर्ने बताउनुभयो ।त्यस्तै नेपाल शिक्षक संघका प्रदेश नं. ५ का अर्जुनकुमार योगीले नयाँ व्यवस्थामा पुरानै शिक्षा चलिरहेकाले राज्यले यसलाई परिमार्जन गरी समय र आवश्यकता अनुक्लको शिक्षा नीति तथा शिक्षा विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । शिक्षकहरुले विगतदेखि नै राज्यको विभेदकारी व्यवहार खेप्दै आइरहेकाले सरकारले शिक्षकका माग र आवश्यकताहरुलाई पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकको शैक्षिक विकास, गुणस्तर र आकर्षक शिक्षाका लागि राज्यले आफै विद्यालय सञ्चालन गर्नुपर्ने बताउनुभयो । सामुदायिक शिक्षाकोे गुणस्तर घट्दै गइरहेकाले राज्यले यो विकल्पलाई अघि सार्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश इन्चार्ज वसन्तराज अधिकारी, अखिल नेपाल शिक्षक संगठन प्रदेश नं. ५ का अध्यक्ष नारायण भण्डारी र अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबहादुर भण्डारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष अमरबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव भागवत् भट्टराईले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस