घोराही, १२ भदौ । दाङका दुईदर्जन संस्थाले कञ्चनपुरसहित देशभर भैरहेका बलात्कारलगायतका जघन्य हिंसाका घटनामा पर्याप्त अनुसन्धान गरी दोषीलाई हदै सम्मको कारवाही र पीडितलाई न्यायको प्रत्याभूति दिन सरकारसँग माग गरेका छन् । मंगलवार प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग गरिएको हो ।

कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कार पश्चात भएको हत्याबिरुद्ध दोषीलाई कारवाही र पीडितलाई न्यायका लागि कञ्चनपुर सहित देशैभर भैरहेको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिएको छ । ‘बलात्कार जस्ता जघन्य अपराध गर्नेलाई जोगाउने सम्बद्ध सबैलाई समेत दण्डित गरियोस् र यस्ता घटनामा सरकारले यसअघि अपनाउँदै आएको भनिएको शून्य सहनशीलताको नीतिलाई नागरिकले अनुभूति गर्ने गरी व्यवहारतः लागू गरियोस्’– ध्यानाकर्षणपत्रमा भनिएको छ ।

बलात्कार जस्तो अपराधमा देखिएको फितलो अनुसन्धान, असंवेदनशील कार्यशैली, घटनालाई हलुकारुपमा लिने प्रवृत्तिको तत्काल अन्त्य गर्न पनि माग गरिएको छ । ‘अठार वर्षभन्दा कम उमेरका बलात्कार प्रभावित र पीडित बालिकाहरुको लागि सरकारी तहबाट उचित संरक्षण, मनोविमर्शका साथै शिक्षा, जीविकोपार्जनको अधिकारको सुनिश्चितता गर्दै सामाजिक न्यायसमेतलाई केन्द्रमा राखेर काम गरियोस्’– ध्यानाकर्षणपत्रमा भनिएको छ– ‘मुलुकी फौजदारी संहितामा रहेको बलात्कारका दोषीलाई विभिन्न उमेर समूहका लागि फरक–फरक सजायको व्यवस्थाका प्रावधानहरु खारेज गरी बलात्कारीलाई सर्वस्व हरणसहित आजन्म कैदको व्यवस्था गरियोस् ।’

बलात्कारको प्रमुख कारणको रुपमा रहेको समाजमा महिलालाई यौन वस्तुको रुपमा हेर्ने, महिलामाथि नियन्त्रण र प्रभुत्व स्थापित गर्ने  विभेदकारी सोंच चिन्तन बदल्न केन्द्रदेखि समुदायतहसम्म त्यस्ता हानिकारक सोंच र परम्परा बिरुद्धको रणनीति बनाई कार्यान्वयनको व्यवस्था गर्न पत्रमा माग गरिएको छ ।

यसरी ध्यानकर्षणपत्र बुझाउनेमा महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, महिला पुनर्स्थापना केन्द्र (ओरेक),  नेपाल महिला सामुदायिक सेवा केन्द्र, मानव अधिकार सञ्जाल, नागरिक समाज दाङ, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र,  इन्सेक, सक्षम महिला सामुदायिक संस्था, विधवा महिला सरोकार केन्द्र, स्वच्छ नेपाल, राप्ती बहिरा संघ, महिला सशक्तीकरण मञ्चसहित २५ संस्था रहेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस