घोराही, १५ भदौ । घोराही उपमहानगरपालिका–२ ले वडामा रहेका विभिन्न सामुदयिक विद्यालयहरुको अनुगमन गरेको छ । वडा अध्यक्ष केशवराज आचार्यको नेतृत्वमा गएको जनप्रतिनिधिहरुको टोलीले वडालाई बालमैत्री घोषणा गर्ने योजनाका साथ स्थानीय विद्यालयहरुको अनुगमन गरेको वडा कार्यालयले जनाएको छ ।

टोलीले गङ्गा मावि रामपुर, प्रावि पलाँसे, जनता मावि, प्रावि निमुरिया र नवचेतना बोर्डिङ स्कुलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा शौचालय, खानेपानी, कक्षाकोठा लगायत भौतिक संरचना एवं शिक्षक उपस्थिति, ड्रेस, सूर्ति, गुठ्का सेवन गरे नगरेको समेत अनुगमन गरिएको वडा अध्यक्ष केशवराज आचार्यले बताउनुभयो । केही विद्यालयहरुमा शौचालयमा पानीको व्यवस्था नभएको एवं फोहर भएको पाइएको हुँदा तत्काल सरसफाइ गर्न निर्देशन दिइएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । साथै विद्यालयमा शुद्धीकरण गरिएको खानेपानीको व्यवस्था गर्न समेत निर्देशन दिएको उहाँले बताउनुभयो । अध्यक्ष आचार्यले वडाका सम्पूर्ण विद्यालयलाई बालमैत्री वातावरणमा अध्यापन गराउन र सोही अनुरुपका संरचना निर्माण गर्न समेत निर्देशन दिएको बताउनुभयो ।अनुगमनका क्रममा विद्यालय समयमा नआउने शिक्षकहरुलाई घर फिर्ता गरिएको थियो । “विद्यालय समयमा शिक्षक, विद्यार्थी विद्यालय आए नआएको, नियमित कक्षा सञ्चालन भए नभएको, विद्यालयभित्र धुम्रपान, मद्यपान तथा सूर्तीजन्य वस्तुको सेवन गरे नगरेको जाँच गर्‍यौँ” वडा सदस्य टार्जन खड्काले भन्नुभयो “विद्यालयको अनुशासन शिक्षक र विद्यार्थी दुवैले पालना गरेको हुनुपर्छ ।”

वडा अध्यक्ष केशवराज आचार्यले यसैवर्ष घोराही २ लाई बालमैत्री वडा घोषणा गर्ने तयारीमा रहेको समेत जानकारी दिनुभयो । जसका लागि पहिलो चरणमा विद्यालयलाई अनुगमन गरिएको उहाँले बताउनुभयो । साथै उहाँले विद्यालयमा मात्र नभएर हरेक परिवारले आफ्ना बालबालिकालाई मैत्रीपूर्ण व्यवहार गर्न समेत आग्रह गर्नुभयो ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस