घोराही, २३ भदौ । मानव अधिकार सञ्जाल दाङले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका नेकपाका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्डसँग हिरासतमै भेटघाट गरेको छ ।
सञ्जालका संयोजक केशवकुमार शर्माको नेतृत्वमा गएको अधिकारकर्मीहरुको टोलीले भेटपछि विज्ञप्ति जारी गरी प्रहरीले मानवधिकारका दृष्टिले प्रकाण्डप्रति सन्तोषजनक व्यवहार गरेको पाइएको उल्लेख गरेको छ । विज्ञप्तिमा “अदालतको आदेशपछि पनि उहाँको गिरफ्तारीको श्रृङ्खला नरोकिएको सन्दर्भमा नागरिकप्रति प्रत्याभूत गर्नुपर्ने न्युनतम मानवअधिकारको सम्मान गर्न राज्यसँग हार्दिक अपिल गर्दछौं” भनिएको छ ।
भेटमा प्रकाण्डले राज्यले राजनीतिक विषयलाई अपराधीकरण गरेर आफूलाई अनावश्यक दुःख दिएको बताउनुभएको थियो । साथै सञ्जालले सबै खालका समस्याहरुको समाधान वार्ताबाट नै हुने सत्यलाई दृष्टिगत गर्दै यथाशीघ्र समस्याको समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
विज्ञप्ति जारी गर्नेहरुमा मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्मा, सदस्यहरु सुशील गौतम, श्रीमन न्यौपाने, सदस्य तथा नागरिक समाजका संयोजक चन्द्रराज पन्त, महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जालकी सचिव लक्ष्मी आचार्य, नेपाल पत्रकार महासंघ दाङका सचिव भूपेन्द्र वली र इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागर हुनुहुन्छ ।
नेकपाद्वारा तत्काल रिहाइको माग
यसैबीच नेपाल कम्युनिष्ट पार्टी दाङले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको तत्काल रिहाइको माग गरेको छ । सरकारले राजनीतिक पूर्वाग्रह राखेर प्रकाण्डलाई झुठ्ठा मुद्दा लगाएर हिरासतमा राख्ने काम गरेको भन्दै स–सम्मान रिहाइको माग गरेको हो । पार्टीका जिल्ला सेक्रेटरी विक्रमले शनिवार विज्ञप्ति जारी गरी प्रकाण्डको रिहाइका लागि आ-आफनो क्षेत्रबाट आवाज उठाइदिन नागरिक समाज, मानवअधिकारवादी, पत्रकार, बुद्धिजीवी, देशभक्त र लोकतान्त्रिक शक्तिहरुलाई अपिल गर्नुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस