घोराही,२५ भदौ । विभिन्न समयमा बलात्कार र अपहरणपछि मारिएका महिला र बालिकाहरुको सम्झनामा दाङमा सोमबार दिउँसै दीप प्रज्ज्वलन गरिएको छ । घोराहीको तुलसीपुर चोकमा दीप प्रज्ज्वलन गरेर उनीहरुको सम्झना गरिएको हो ।
मानवअधिकारको क्षेत्रमा क्रियाशील अगुवा महिला, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सर्वसाधारण नागरिकहरुले सामुहिक दीप प्रज्ज्वलन गर्दै बलात्कार र अपहरणपछि भएका हत्या, आत्महत्याका दोषीमाथि कारवाहीको माग गरे । दिन प्रतिदिन बालिका बलात्कार बढेको र बलात्कारपछि हत्या, अपहरणजस्ता अपाराधिक गतिविधिमा संलग्नहरुमाथि कारवाही हुन नसकेको भन्दै पीडितलाई न्यायको माग गर्दै दिउँसै दीप प्रज्ज्वलन गरिएको महिला मानवअधिकार राष्ट्रिय सञ्जालकी सचिव लक्ष्मी आचार्यले जानकारी दिनुभयो ।कञ्चनपुरकी बालिका निर्मला पन्त हत्यापछि पनि थुप्रै बालिकामाथि बलात्कारका घटना भएको र  घटनाका दोषीमाथि कारवाही र पीडितलाई न्याय माग्दा पनि ज्यान गुमाउनुपर्ने अवस्थाले गम्भीर स्थिति सिर्जना भएको भन्दै उनीहरुले लैंगिक हिंसा, बलात्कार, अपहरणजस्ता घटनामा गम्भीर हुन सरकारलाई आग्रह समेत गरे ।
महिला र बालिका घरभित्रै असुरक्षित देखिएका छन् नेपाल महिला सामुदायिक सेवा केन्द्रकी कार्यकारी निर्देशक विमला योगीले भन्नुभयो,– महिला र बालिकाहरुको घरदेखि सडकसम्मको सुरक्षाको ग्यारेन्टी गर्न र दोषीमाथि कारवाही गर्न माग गर्दछौं । अहिले पनि महिलामाथि हुने हिंसा, यातना, बलात्कारजस्ता गतिविधिले महिला र बालवालिका स्वयंले आत्महत्यासम्म गर्ने अवस्थामा पुगेका घटना सार्वजनिक भइरहेको भन्दै उनीहरुले आत्महत्या गर्न बाध्य पार्नेहरुमाथि समेत कडा कारवाहीको माग गरे ।सो अवसरमा नेकपाकी जानका रेग्मी, काँग्रेसकी सावित्रा राना, अधिकारकर्मी सुष्मा गिरीलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस