दाङ, १४ भदौ । नारायणपुर क्षेत्रमा अन्तर्राष्ट्रिय हवाई मैदान बनाउने विषयलाई लिएर त्यस क्षेत्रका बासिन्दाहरु आन्दोलित भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १०, ११ र १२ का बासिन्दाहरु आन्दोलित भएका हुन् । आफूहरुसँगको सल्लाहविना विमानस्थल निर्माणको विषय आएकाले संघर्ष समिति बनाएर उनीहरु आन्दोलित भएका हुन् ।
संघर्ष समितिको अगुवाइमा आइतवार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । यस्तै घोराही उपमहानगरपालिकामा पनि उनीहरुले ज्ञापनपत्र बुझाएका छन् । संघर्ष समितिका सदस्य सचिव धर्म सिजवालको नेतृत्त्वमा रहेको करिब ५ सय बढीको संख्यामा आएका स्थानीयबासीहरुले घोराहीमा नाराबाजी गर्दै ज्ञापनपत्र बुझाएका थिए ।ज्ञापनपत्रमा पर्यटन मन्त्री दाङ आएको समयमा भ्रामक विषयमा उहाँलाई जानकारी गराइएको प्रति उनीहरुले विरोध गरेका छन् ।  पर्यटनमन्त्री रविन्द्र अधिकारी दाङ आएको समयमा मन्त्रीलाई भूगोलको बारेमा यथार्थ जानकारी गराउने भनेर स्थानीयबासीहरु गएको भए पनि केही व्यक्तिहरुको हस्तक्षेपमा वास्तविक स्थलको मन्त्रीले अवलोकन नगरेकोमा विरोध गरेका छन् । मन्त्रीलाई मज्गैँमा केही व्यक्तिहरुले भ्रामक जानकारी दिएको भन्दै उनीहरुले यथार्थ नबुझेर मन्त्री फर्कीएकोमा पनि विज्ञप्तिमा विरोध जनाएका छन् ।यस्तै पूर्वमा गुर्जे खोलादेखि, पश्चिममा हापुर खोला एवं उत्तरमा दामोदर रोडदेखि दक्षिणमा घोराही तुलसीपुर मूल सडककोबीच भूभागमा करिब २ हजार बढी घर एवं हजारौ जनसंख्या रहेको, मुस्किलले २०/२५ बिगाह जग्गा गुठीको रहेको, यस क्षेत्रमा १ क्याम्पस, ३ सामुदायिक मावि विद्यालय र निजी विद्यालयहरु रहेको, ऐतिहासिक मन्ठोरिया मन्दिर रहेको करडौको लगानीमा निर्माण भएको खानेपानी ट्यांकी, उद्योगहरु सञ्चालनमा रहेको, सिचाईका लागि खोलाहरुमा करोडौँको रकम खर्च भइसकेकोले यसलाई विनाश गर्न सम्भव नभएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।साथै ज्ञापनपत्रमा यस क्षेत्रका लागि टरिगाउँ विमानस्थलको सुधार गरी शीघ्र हवाई सेवा नियमित गर्न माग गरिएको छ । आफूहरुको यस आग्रहलाई वेवास्ता गरी सरकार अगाडि बढेमा जस्तोसुकै कदम चाल्न पनि आफूहरु तयार हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस