दाङ, १५ भदौ । पछिल्लो समय भैरहेका बलात्कार र यौन हिंसासम्बन्धी डरलाग्दा घटनाहरुले हरेक आमाबुवा र छोरीहरुलाई त्रसित बनाएको छ । यस्तो लाग्छ कि आजभोलि हरेक आमाहरु निद्रामा पनि झस्कन्छन् होला, छेउमै सुतेकी छोरीको अवस्था बुझ्न छामछुम् गर्न पुग्छन् होला । विद्यालय गएकी छोरी सकुशल घर नफर्कदासम्म बाआमाको मनमा चैन हुँदैन होला अनि केही किन्नुपरे छोरीलाई पठाउने कि आफै दौडने भन्ने अन्योलले आमाहरुलाई सताइरहन्छ होला ।

एकपछि अर्को थपिदै गएका झनझन त्रासपूर्ण घटनाले छोरीलाई घरबाट निस्कन पनि डराउनुपर्ने अवस्था आएको छ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलाग्दै घरनजिकै बिस्कुट किन्न निस्किएकी पोखराकी १० बर्षीया श्रीया सुनारको बलात्कारपछि हत्या भयो । रक्सी र गाँजाका अम्मली छिमेकी २७ वर्षीय कुसुम पौडेलले श्रीयाको हत्या गरेको स्वीकारेका छन् । स्कुलबाट भोकाएर आएकी र ५ रुपयाँ बोकेर बिस्कुट किन्न गएकी ती अबोध बालिकालाई ढुंगैढुंगाले हानेर हत्या गरेको कुरा सुन्न पनि निकै ठूलो साहस गर्नुपर्छ ।५० वर्षीय छिमेकी रामबाबु पासवानले सुतेको बेला एसिड प्रहार गरेपछि रौतहटकी १८ बर्षीया सम्झना दासको मृत्यु भयो । उनकी १५ वर्षीया बहिनी सुस्मिताको उपचार भैरहेको छ । दास दिदीबहिनी घरमै सुतिरहेको बेला पहिले नै खाटमुनि लुकी बसेका पासवानले राती एसिड प्रहार गरेको खुल्न आएको छ । सम्झनाले यौन प्रस्ताव स्वीकार नगर्दा एसिड खन्याएको पासवानले स्वीकार गरेका छन् ।

Advertisements

पूर्वी नवलपरासीकी २८ वर्षीया वसन्ती परियारमाथि ३७ बर्षीय छिमेकी विमल विकले एसिड र चक्कु प्रहार गरे । बजारबाट घर फर्कदै गरेकी वसन्तीलाई बाटोमै आक्रमण भएको थियो । केही दिनको फरकमा भएका यी घटनाले बालिका बचाउन कठिन भैरहेको संकेत गर्छन् । यी घटनाले गम्भीर प्रश्नहरु उब्जाएका छन् । छिमेकीबाटै यौनहिंसा र हत्याका घटना भएपछि अब आफ्ना बालिकाहरुलाई सुरक्षित राख्न के गर्ने भन्ने चिन्ता अभिभावकहरुलाई भएको छ । छोरीलाई घरबाट एक्लै बाहिर निस्कन दिने कि नदिने भन्ने अर्को प्रश्नले बाआमालाई सताएको छ ।बलात्कार र त्यसपछि हत्या जस्तो जघन्य अपराधका घटना बढ्दै गर्दा पनि सरकारको गम्भिरता नदेखिदा नागरिक निराश भएका छन् । कञ्चनपुरकी निर्मला पन्तको हत्या घटनामा सरकारी उदासिनता दुःखद् छ । गृहमन्त्री रामबहादुर थापा पुँजीवादका कारण बलात्कार बढेको भन्छन् । सत्तासिन नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल सत्ता ढाल्ने खेल भन्छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली घटनाका दोषीमाथि खनिनुको सट्टा सरकारका गलत कामको बिरोध गर्नेसामु अरिंगाल जस्तै खनिन नेता कार्यकर्तालाई आग्रह गर्छन् ।

कञ्चनपुर घटनामा राज्यका महत्वपूर्ण निकायमा राम्रै पहुँच भएका मानिसको संलग्नता रहेको कुरामा शंका छैन अन्यथा अहिलेसम्म दोषी पत्ता लागिसक्थ्यो । दोषी जोसुकै भए पनि कार्वाही गर्ने दिशामा सरकारको गम्भिरता देखिएन, उल्टै प्रधानमन्त्री, मन्त्री र जिम्मेवार नेताहरु घटनालाई विषयान्तर गर्ने काममा लागिरहेका छन् । बुवाले अर्कै विहे गरेर बिरामी आमालाई अलपत्र छोडेपछि मावली घरको संरक्षणमा बस्दै आएकी र ५ रुपयाँ बोकेर बिस्कुट किन्न गएकी श्रीया सुनारको पुँजीवादसँग के सम्बन्ध छ ? दिनभर पढेर आएकी श्रीयाको भोक शायद ५ रुपयाँको बिस्कुटले मेट्दैनथ्यो होला । घरमा खाजा बनाइदिने अभिभावक नभएकै कारण उनी बिस्कुटको खोजीमा हिँडिन् र अन्तमा ज्यान गुमाइन् । ज्यान लिने दोषी पनि घरबार तंगभंग भएका गजँडी र जँड्याहा छन् । समाचारमा आए अनुसार उनी पनि कुनै पुँजीवादी वर्गमा पर्नेखालका देखिदैनन् ।अस्पतालको खर्च तिर्न नसकेर १२ घण्टासम्म शव उठाउन नसक्ने सम्झना दासको परिवार र उनीमाथि एसिड प्रहार गर्ने छिमेकी रामबाबु पासवानमा पनि पुँजीवादी समाजको छायाँ देखिदैन । ठूलो बुवा मान्दै आएका पासवान त्यसरी क्रुर हुनुका पछाडि यौनजन्य मानसिक विकृति र दण्डहीनता जस्ता कुनै कारण हुन सक्लान् । दोषी नै पत्ता नलागेको कञ्चनपुर घटनाका बारेमा त बढी के नै भन्न सकियो र ? तर घटनाक्रम हेर्दा पोखराका गँजडी, रौतहटका पासवान या कञ्चनपुरका अज्ञात अपराधीले सरकार नै असफल बनाउन यत्रो हर्कत गरेको कुनै तथ्य छैन । पुँजीवादले उनीहरुलाई उक्साएको पनि तथ्यहरुले देखाउँदैनन् । बलात्कारपछि हत्या जस्तो गम्भीर घटनाको प्रमाण मेट्ने र अनुसन्धान बंग्याउने प्रहरी अधिकारीमाथि अरिंगाल बन्ने कि सरकारलाई दोषी उम्कन नदेऊ भनेर आग्रह गर्नेमाथि ? यसबारे सरकारले नै सोच्नुपर्ने कुरा हो ।सरकारको यस्तो उदासिनताका बाबजुद् बालिका कसरी बचाउने त ? के सँधै छोरीलाई घरमै थुनेर राख्न सम्भव छ ? के छोरीलाई एक्लै घरबाट निस्कन नदिन सम्भव छ ? के हरेक छिमेकीलाई शंका गरेर बस्न सम्भव छ ? के छोरीलाई हरेक आफन्तको नजिक जान नदिन सम्भव छ ? सम्भवतः छैन । यस्तो बेला परिआउँदा आपतकालिन प्रतिकार गरेर आफूलाई बचाउन सकिने केही उपाय छ कि ? केही सजगता अपनाउँदा पनि बालिका सुरक्षित हुन सक्छन् कि ? घटना भएपछि उपचार खोज्नुभन्दा घटनाबाटै बच्न पो केही गर्न सकिन्छ कि ?

जानकारहरुका अनुसार बलात्कार एकैपटक हुँदैन । त्यसअघि विभिन्न चरणमा एकखालको संघर्ष हुन्छ । शुरुमा आँखा जुधाउने, मौखिकरुपमा जिस्काउने, संवेदनशील अंगहरु छुन खोज्ने र यति गर्दा पनि बालिका प्रतिकार गर्नसक्ने अवस्थामा नेखिएपछि मात्रै बलात्कार गर्ने गरेको देखिन्छ । त्यसैले शुरुकै चरणमा प्रतिकार गर्न सकेमा बलात्कारबाट बच्न सकिन्छ कि ? बालिकालाई जोखिममा पार्ने विषय अरु पनि छन् । बालहिंसा, बालविवाह, दुर्व्यवहार जस्ता घटना पनि बालिकालाई कमजोर बनाउने घटना हुन् । यी घटना रोक्न केही न केही पहल त गर्नैपर्छ । सरकारले केही गरेन भनेर गुनासो मात्रै गरेर भएन । यिनै कुराहरुको समाधान खोज्न यही असोज ५ र ६ गते पूर्वी नवलपरासीको देवचुलीमा बालिका सम्मेलन सम्पन्न भएको छ ।गण्डकी प्रदेश र ५ नं. प्रदेशका २३ जिल्लाका बालिकाहरु एकठाउँ जुटेर बालिका बचाउने विभिन्न उपायको खोजी गरेका छन् । आफ्ना आवाजहरु सरकारसमक्ष पेश गरेका छन् । बालिकाहरुले विभिन्न सीपहरु सिकेर आत्मबल बढाउने काम गरेका छन् । बालिकाले बलात्कारीबाट उम्कन के के उपाय गर्ने भनेर आत्मरक्षा तालिम लिए, आफूलाई मनपर्ने चित्र कोरेर मनका भावनाहरु व्यक्त गरे, बालिकामाथि हुने हिंसा र बालविवाहका परिणामबारे नाटक देखाए । अन्तमा बालिकाका समस्याबारे भाषण गरेर मन्त्री र नेताहरुलाई सुनाए । आफ्ना आवाजलाई लिपिबद्ध गरी नौबुँदे घोषणापत्र पनि सरकारलाई हस्तान्तरण गरे ।

नेपालमै पहिलो जागृति बाल क्लव स्थापना भएको नवलपरासीको देवचुली नगरपालिकामा ‘बालिका सम्मेलन’ भएको थियो । यही नगरपालिकामा रहेको साविकको प्रगतिनगर गाविस नै २०७० पुस ९ गते नेपालको पहिलो बालमैत्री स्थानीय निकाय घोषणा भएको थियो । अहिलेको देवचुली नगरपालिका पनि देशको दोस्रो बालमैत्री स्थानीय तह घोषणा भैसकेको छ । पहिलो बालमैत्री स्थानीय तह पश्चिम नवलपरासीको सुनवल नगरपालिका घोषणा भएको छ ।पूर्व बाल क्लवका सदस्यहरुले स्थापना गरेको जागृति बाल तथा युवा सरोकार नेपालले स्थानीयस्तरमा कार्यक्रमको संयोजन गरेको थियो । पहिलो बाल क्लबमा रहेकाहरुले नै अहिलेका बालिकाहरुलाई विभिन्न भावना प्रस्फुटन गर्न सहजिकरण गरिरहेका थिए । बालिका जुटाउन बालअधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले सहयोग गरेका थिए । बालिका सम्मेलनले बालिकाहरुका समस्या उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताए । ‘बालमैत्री स्थानीय तहमा भएका सकारात्मक कुराहरु सिक्न र बालिकाका समस्याहरु सरकारलाई सुनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने, ‘पछिल्ला हिंसात्मक घटनाले निराश भएका बालिकाहरुको आत्मबल बढाउन पनि यसले सहयोग गरेको छ ।’

सम्मेलनको व्यवस्थापन र आत्मरक्षा तालिममा खटेका थिए गर्ल्स किकमा आबद्ध किशोरकिशोरीहरु । उनीहरुले बालिकाहरुलाई बलात्कारका प्रारम्भिक चरणमा कसरी आत्मरक्षा गर्न सकिन्छ भन्नेबारे सैद्धान्तिक र प्रयोगात्मक तालिम दिएका थिए । आपतकालिन अवस्थामा आफूलाई बलात्कारीको पञ्जाबाट कसरी उम्काउने भन्ने विभिन्न टिप्सहरु यसमा दिइन्छ । एकैपटकमा बलात्कार नहुने र यसका विभिन्न चरण हुने गर्ल्स किकका निर्देशक निरज न्यौपानेले बताए । ‘आँखाको जुधाईबाट बलात्कारको शुरुवात हुन्छ । बोली, शारीरिक स्पर्श, संघर्ष हुँदै अन्तमा बलात्कार हुन्छ,’ उनले भने,‘यही शुरुका चरणमा बलात्कारीलाई प्रतिरक्षा गर्न सकेमा सुरक्षित हुन सकिन्छ । बलात्कारीले कमजोरीको फाइदा उठाउने भएकाले आफूलाई बलियोरुपमा प्रस्तुत गर्ने कलाहरु हामी दिन्छौं ।’ तालिम र सम्मेलनमार्फत आम मानिसहरुको बालिकाको शरीरलाई हेर्ने दृष्टिकोण बदल्न खोजेको उनले बताए ।तालिममा एक, पाँच र १५ दिनसम्मका बिषयबस्तु छन् । शुरुमा एक दिन आफूलाई चिन्ने सम्बन्धी सचेतनामुलक अभिमुखिकरण, त्यसपछिका पाँच दिन शारीरिक अभ्याससँगै सशक्तीकरण र त्यसपछि नौ दिन समाजमा अभ्यास गरेर यसको उपयोगिताबारे व्यवहारिक ज्ञान लिइन्छ । अन्तमा बलात्कारसम्बन्धी कानूनी प्रावधानहरु पनि सिकाइन्छ । गर्ल्स किककी प्रशिक्षक विद्या विष्ट र प्रियंका बरालले शारीरिक तालिम दिएका थिए । तालिमको माध्यमबाट बालिकाहरुको आत्मविश्वासको तह बढाउन सकिने उनीहरुले बताए । कसैले केही भनेर जिस्काइहाले के गर्ने, एक्कासी पछाडिबाट कपाल समाए, हात समाए, घाँटी समाए, कम्मर समाए कसरी फुत्कने जस्ता कुराहरु तालिममा सिकाइन्छ । तालिममा बलात्कारीले गर्नसक्ने सम्भावित क्रियाकलापहरुको जानकारी दिई विभिन्न अवस्थाहरुको प्रतिरक्षा उपायहरु सिकाइने गर्ल्स किककी कार्यक्रम प्रबन्धक कुसुम केसीले बताइन् ।

सम्मेलनमा बालिकाहरुले विभिन्न सिर्जनामार्फत पनि आफ्नो आत्मबल प्रदर्शन गरेका थिए । हामी कमजोर छैनौं, हामी पनि सक्षम छौं, बालिका बलात्कारका लागि जन्मेका होइनन्, बालिका बचाओ जस्ता सन्देश बोकिएका चित्र कोरेर बालिकाहरुले आफ्नो आवाज व्यक्त गरेका थिए । उनीहरुले विभिन्न जिल्लाको अवस्थाबारे समीक्षा गर्दै सुरक्षितपूर्वक हिँड्डुल गर्न पाउने वातावरण बनाउन सरकारसँग माग गरे । बालिकाहरुले विभिन्न सिर्जनशील काम गर्नसक्ने भएकाले त्रासमुक्त वातावरण बनाइनुपर्ने नवलपरासीकी रेजिना घर्तीले बताइन् ।कञ्चनपुरकी निर्मला पन्तलगायत अन्य बालिकाहरुमाथि भैरहेको बलात्कार, हत्या र एसिड आक्रमणका घटनाले सिर्जनशील काम गर्ने मनोभावनामा गम्भीर आघात पुर्‍याएको नवलपरासीकै पुनम भण्डारीले बताइन् । घटनाका दोषीलाई कार्वाही गर्दै बालिकाहरुको आत्मबल र आत्मविश्वास बढाउनेखालका कार्यक्रम तय गर्न सरकारसँग माग गरिएको छ । बालिकाहरुले दिनहुँजसो यौनजन्य शारीरिक तथा मानसिक हिंसा भोग्नुपरेको र यसप्रति सरकार उदासिन भैरहेको पाल्पा बाल सञ्जालकी अध्यक्ष शुष्मा खनालले बताइन् । ‘न्याय माग्दा ज्यान गुमाउनुपर्ने अवस्था आयो । हाम्रो सुरक्षा गर्न सरकार किन तयार छैन ?,’ उनले भनिन्, ‘हामी घरबाट निस्कन डराउनुपर्ने अवस्था आएको छ । हामी ढुक्कसँग हिँड्ने अवस्था कहिले आउँछ ? बलात्कार र हत्या जस्ता अपराधका दोषीलाई कार्वाही कहिले हुन्छ ?’

सम्मेलनमा बालिकाका समस्यामाथि प्रश्नोत्तर कार्यक्रम पनि सञ्चालन गरिएको थियो । बालिका सम्बन्धी सरोकारवाला निकायका प्रमुखहरुसामु बालिकाहरुले विभिन्न प्रश्न गरेका थिए । सरोकारवालाले प्रश्नको जवाफ दिएर बालिकाका जिज्ञासा मेट्ने प्रयास गरेका थिए । मानवअधिकार हनन्‌का घटनाहरु बढिरहँदा पनि मानवअधिकार आयोग किन चुप लागेर बसिरहेको छ भन्ने बालिकाहरुको प्रश्नमा आयोगका गण्डकी प्रदेश प्रमुख दीपकजंग कार्कीले जवाफ दिएका थिए । उनले आयोगले मानवअधिकार उल्लंघनका घटनाबारे अध्ययन गरी सरकारलाई उचित कदम लिन सिफारिस गर्दै आएको जानकारी दिएका थिए ।मानवअधिकार उल्लंघनका घटनाहरु अभिलेखिकरण गर्ने संस्था इन्सेकका गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले सरकारलाई गम्भीर हुन दबाब दिइरहेको बताए । बालबालिकासम्बन्धी काम गर्ने संस्था केयर नेपालकी करुणा थापा मगरले बालिका बचाउन समुदाय तहमै प्रभावकारी चेतनामूलक कार्यक्रमको खाँचो रहेको बताइन् । देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बालमैत्री स्थानीय तह कसरी बनाउन सकिन्छ भन्नेबारे जानकारी दिएका थिए । बालमैत्री अभियन्ता खिमानन्द भुसालले बालमैत्री स्थानीय तहमा बालबालिकाका अधिकार सुरक्षित हुनसक्ने बताए ।

बालहिंसा, श्रम, विवाह र अन्य समाजिक कुरीतिसम्बन्धी विषयहरु विद्यालयको पाठ्यक्रममा समावेश गर्न पनि बालिकाहरुले माग गरेका थिए । बालिकाहरुले उठाएका सवाल गम्भिरखालका रहेको र सरकारले बालिका बचाउन तत्काल प्रभावकारी कार्यक्रम थाल्ने गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले बताइन् । ‘बालिकाहरुले उठाएका सवाल गम्भिर खालका छन् । दिनहुँजसो भैरहेका बलात्कार र हिंसाका घटनाले हामीलाई दुखी बनाएको छ,’ उनले भनिन्,‘बलात्कारका दोषीलाई कारवाही गर्न र बालिका बचाउन हामी कटिबद्ध छौं ।’

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस