घोराही, १७ असोज । घोराही उपमहानगरपालिकाको अगुवाईमा बुधबार नारायणपुर र खैरा क्षेत्रका बजारहरुको अनुगमन गरिएको छ । उपमहानगरपालिकासहित उद्योग बाणिज्य संघ, प्रहरी र पत्रकारको टोलीले वडा नम्बर १० को नारायणपुर र ११ को खैरामा रहेका दुई दर्जन पसलहरुको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा प्रक्रिया नपुर्‍याएरै पसलहरु सञ्चालनमा रहेको पाइएको छ । पसल सञ्चालन गर्दा दर्ता गर्नुपर्ने सबै निकायहरुमा दर्ता नगरेको र अनुमतिविनै मदिराहरु बिक्री गरिरहेको पाइएको छ ।
घोराही उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख सीता सिग्देल न्यौपानेको नेतृत्वमा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नारायणपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष अभियान बस्नेत, घोराही उपमहानगर उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेबबहादुर बुढाथोकी, वातावरण शाखा प्रमुख दुर्गाप्रसाद खत्री, इलाका प्रहरी कार्यालय नारायणपुरका प्रहरीसहित पत्रकारको टोलीले अनुगमन गरेको हो ।
अधिकाशं पसलहरु घोराही उपमहानगरपालिकामा दर्ता नभएरै सञ्चालनमा रहेको भेटिएको छ । साथै केही होटलहरुमा म्याद गएका पेय पदार्थ र घरपालुवा मदिरा भेटिएपछि टोलीले जफतसमेत गरेको छ ।
नगर कार्यबहाक प्रमुख न्यौपानेले सबै निकायमा दर्ता गरेर पसल सञ्चालन गर्न, नवीकरण गर्न, अवैध मदिराहरु बिक्री नगर्न, सरसफाईमा ध्यान दिन र वैधानिक मदिराहरुलाई अनुमति लिएर मात्रै बिक्री गर्न पसल सञ्हचालकहरुलाई निर्देशन दिनुभएको छ ।
घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका पसलहरुलाई वैधानिकरुपमा सञ्चालन गराउन र उपभोक्ता हितलाई मध्यनजर गर्दै बजार अनुगमनलाई नियमित राखेको छ । म्याद गएका वस्तुहरु बिक्री नगर्न, मूल्य सूची देखिने गरी राख्न र मिसावट नगर्न समेत उपमहानगरले व्यवसायीहरुलाई सार्वजनिक सूचनामार्फत आग्रह समेत गर्दै आएको न्यौपानेले जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस