घोराही, १८ असोज । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाँच नम्वर प्रदेश कार्यालय नेपालगञ्जले जिल्ला कारागार कार्यालय दाङमा रहेका कैदीबन्दीहरुका लागि मानवअधिकारसम्वन्धी पुस्तक हस्तान्तरण गरेको छ ।
इन्सेकका ५ नम्बर प्रदेश संयोजक भोला महतले बिहीवार जिल्ला कारागार कार्यालय घोराहीका जेलर दुर्गादेवी कोइराला र कैदी नायक डिपलपसेन वलीलाई सामूहिकरुपमा पुस्तक हस्तान्तरण गर्नुभएको हो । इन्सेकको प्रमुख प्रकाशन नेपाल मानवअधिकार वर्ष पुस्तक र सहप्रकाशनहरु प्राचीसहित एकसय पुस्तक हस्तान्तरण गरिएको हो ।
पुस्तक ग्रहणपछि बोल्दै जेलर दुर्गादेवी कोइरालाले कैदीबन्दीमात्र नभई कारागारमा रहने सबैका लागि पुस्तक उपयोगी हुने बताउनुभयो । कैदीबन्दीहरुले पुस्तक अध्ययनबाट क्षमता विकास गर्नसक्ने भन्दै मानवअधिकारका विविध विषय समेटिएका पुस्तक हस्तान्तरण गरेकोमा इन्सेकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै कैदीबन्दी नायक वलीले मानवअधिकार वर्षपुस्तक नियमित अध्ययन गरिरहेको बताउँदै मानवअधिकारका थप विषय उल्लेख गरिएका पुस्तकहरुले कैदीबन्दीको समेत ज्ञान विस्तार हुने बताउनुभयो ।
सो अवसरमा इन्सेक ५ नम्बर प्रदेश संयोजक महतले इन्सेकले प्रकाशन गर्ने थुप्रै पुस्तक तथा प्रकाशनहरुलाई कारागारसम्म नियमित पुर्‍याउने बताउनुभयो । जिल्ला कारागारमा पुस्तकालयको समेत व्यवस्था भएकाले मानवअधिकारका विषयमा लेखिएका पुस्तक तथा सामग्रीहरु संग्रहित गरेर कैदीबन्दीहरुलाई अध्ययनका लागि सहज बनाइने कारागारले जनाएको छ ।
५० जनाको क्षमता रहेको कारागारमा हाल २ सय २७ जना कैदीबन्दी छन् । प्रदेश संयोजक महतको नेतृत्वमा जिल्ला प्रतिनिधि जे.एन.सागर, हरप्लेसका जिल्ला संयोजक विनोद केसीलगायतको टोली कारागार पुगेको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस