घोराही, २३ असोज । घोराही उमहानगरपालिकालाई बालमैत्री बनाउन गृहकार्य थालिएको छ । जसअन्तर्गत उपमहानगरका १९ वटै वडाका अध्यक्ष र बालबालिकाका अभिभावकलाई सोमबार बालमैत्री स्थानीय शासनबारे अभिमुखिकरण गरिएको छ ।

सबै वडामा बालमैत्री कार्यक्रम तय गरी बालसंरक्षणका अभियानहरु सञ्चालन गरिने नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । बालबालिका समाजका महत्वपूर्ण अंग भएकाले उनीहरुको संरक्षण गर्दै वडालाई बालमैत्री बनाउनु स्थानीय तहको कर्तव्य भएको उहाँले बताउनुभयो । कार्यक्रममा बालमैत्री स्थानीय शासनका ३९ वटा सूचकहरु पूरा गरी वडालाई बालमैत्री घोषणा गर्नसकिनेबारे वडा अध्यक्षहरुसँग छलफल भएको थियो ।

बालमैत्री प्रशिक्षक दुर्गालाल केसीले बालअधिकार, बालमैत्री स्थानीय शासन र बालमैत्री स्थानीय तह घोषणाका प्रक्रियाबारे प्रशिक्षण दिनुभएको थियो । वडा अध्यक्षहरुले बालमैत्री वडा घोषणाका लागि आवश्यक पहल कदमी गर्ने बताउनुभएको थियोे । सबै वडाका बस्ती र विद्यालयमा तत्काल बाल क्लवहरु गठन गरी बालमैत्री अभियानहरु सञ्चालन गर्न सबै वडा अध्यक्षहरु तयार भएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७५ मा वडाको काम कर्तव्यमा बालमैत्री वडा घोषणा गर्ने कुरा पनि समेटिएकाले सोही अनुसार काम गर्न सबै प्रतिबद्ध भएका छन् । घोराहीका ५, ६ र ७ नं. वडा अर्थात साविकका धर्ना र सौंडियार गाविस यसअघि नै बालमैत्री घोषणा भैसकेका छन् । बाँकी १६ वडालाई बालमैत्री बनाउन सबै वडा अध्यक्ष र सदस्यहरु गम्भीर हुनुपर्ने उपप्रमुख सीता सिग्देल न्यौपानेले बताउनुभयो ।

बालबालिका सम्बन्धी नीति र कार्यक्रम बनाउने पहिलो दायित्व जनप्रतिनिधिको भएकाले सबै वडा अध्यक्ष र सदस्यहरु बालमैत्री अभियानमा अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो । बालश्रम, बालविवाह, हिंशा, दुर्व्यवहार जस्ता गलत प्रवृत्ति हटाउने कार्यक्रम तय गरेर वडावडामा अभियान चलाउन जरुरी रहेको उहाँले बताउनुभयो ।

घोराहीमा मुख्य समस्याका रुपमा रहेको बालश्रम न्यूनिकरण गर्न यूनिसेफ नेपालको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान नेपालमार्फत बालसंरक्षण कार्यक्रम सञ्चालन गर्न थालिएको उपमहानगरकी महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी बिश्वकर्माले बताउनुभयो । बालश्रमिकहरुको पहिचान गरी उनीहरुको अवस्था विश्लेषण गरेर उद्धार, पुनर्स्थापना र शिक्षामा सहयोग जस्ता कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत यामबहादुर कुँवरले बालबालिकाका सवालमा उनीहरुको अर्थपूर्ण सहभागिता गराई बालमैत्री उपमहानगर बनाउन सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो । बाल क्लवहरुलाई परिचालन गरी बालमैत्री अभियानलाई प्रभावकारी बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस