दाङ, ७ कात्तिक । प्यूठानमा रहेको स्वर्गद्वारी आश्रममा रहेको मन्दिरमा हरेक वर्ष जस्तै यस वर्ष पनि धर्मध्वजा परिवर्तन गरिएको छ ।

हरेक वर्ष कोजागत पूर्णिमाका दिन ध्वजा परिवर्तन गरिँदै आएको र यसवर्ष पनि उक्त ध्वजा परिवर्तन गरिएको स्वर्गद्वारी आश्रम प्यूठान सञ्चालक समितिका सचिव ब्रम्हचारी डा. रुद्रप्रसाद मिश्र (ध्रुवश्री) ले जानकारी दिनुभयो ।

आश्रमको मुख्य केन्द्रका रुपमा रहेको स्वर्गद्वारीमा हरेक बर्ष कोजागत पूर्णिमाका दिन करिव चालिस हात अग्लो ध्वजा ठडाउने गरिदै आएको छ । अग्लो सल्लोको रुखलाई ध्वजाको रुपमा ठडाउने र त्यसमा जमरा, ध्वजा, मालाहरु चढाउने गरिन्छ । विक्रम सम्वत २९५२ मा शुरु भएको अखण्ड यज्ञकै समयदेखि हरेक बर्ष ध्वजा परिवर्तन गर्ने चलन चलेको बताइन्छ ।

ध्वजा परिवर्तनको समयमा स्थानीय बासिन्दा र भक्तालुहरुको भीड लागेको थियो । स्वर्गद्वारी आश्रमका व्यवस्थापकहरु, आश्रममै रहेको गुरुकुलका विद्यार्थीहरु लगायतले ध्वजालाई ठडाएका थिए । प्यूठानको स्वर्गद्वारी पवित्र धार्मिक तीर्थस्थल मानिन्छ ।

बालतपस्वी स्वर्गद्वारी महाप्रभुले तपस्या गरेको स्वर्गद्वारीलाई द्वापर युगको समयमा पाण्डवहरु स्वर्ग गएको स्थानका रुपमा मानिन्छ । हरेक वर्ष बैशाखको पूर्णिमामा स्वर्गद्वारी आश्रममा विशेष पूजाआजा हुने गरेको छ ।

कोजागत पूर्णिमाको अवसरमा मुल मन्दिरको पूर्वतर्फ धर्मध्वजा फहराउने गरिन्छ भने विक्रम सम्वत १९९२ देखि निरन्तर बलिरहेको अखण्ड यज्ञस्थलको बाहिर पनि साना ध्वजाहरु फहराउने गरिन्छ । स्वर्गद्वारी आश्रमले कोजागत पूर्णिमाको दिनलाई विशेष महत्वको दिनको रुपमा लिने गरेको स्वर्गद्वारी आश्रम सञ्चालक समितिका सचिव व्रम्हचारी डा. ध्रुवश्रीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस