घोराही, १२ कार्तिक । घोराही उपमहानगरपालिकाले मापदण्डलाई पालना गरेर मात्रै भौतिक संरचनाहरु बनाउन नगरबासीलाई आग्रह गरेको छ । कुनै पनि भौतिक संरचनाहरु बनाउन नियमहरु पालना गर्नुपर्ने भन्दै उपमहानगरले मापदण्ड मिचेर बनाउने कुनै पनि संरचना भत्काउन समेत चेतावनी दिएको छ ।
उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भवन निर्माण आचारसंहिताअनुसार भवन बनाउन र उपमहानगरको अनिवार्य अनुमति लिएर मात्रै काम थाल्न नगरबासीलाई आग्रह गर्नुभएको छ ।
यसैक्रममा उपमहानगरले सोमबार घोराहीको शहीद गेटमा निर्माणाधिन एक भवनको दुईवटा पिलर भत्काएको छ । सडकदेखि ६ मिटर दुरी छोडेर भवन बनाउनुपर्ने नियम भए पनि त्यसो नगरेको पाइएपछि भत्काउनु परेको उपमहानगरका इन्जिनियर रामधन श्रेष्ठले जानकारी दिनुभयो ।
नरेश बिकले बनाउँदै गरेको उक्त भवन मापदण्डअनुसार नभएको र गएको साउन १५ गते तत्काल काम रोकेर प्रक्रिया पुर्‍याउन उपमहानगरले पत्र काटे पनि अटेर गरेर निर्माण थालेपछि भत्काएको इन्जिनियर श्रेष्ठको भनाइ छ ।
साथै उपमहानगरले जनप्रतिनिधिहरु आएपछि मापदण्डलाई मिचेर बनाएर सबै संरचनाहरु भत्काउने चेतावनी दिएको छ । कानुनको उलङ्घन गरेर काम गर्ने कसैलाई अधिकार नभएको भन्दै मापदण्ड विपरीत बनाइएको संरचनाहरु भत्काउने बताएको हो ।
मुख्य सडकमा सडकको मध्यभागदेखि २१ मिटर र किनारादेखि ६ मिटर छोडेर मात्रै संरचना बनाउन पाइने नियम रहेको छ । नगर प्रमुख चौधरीले मापदण्ड विपरीत नियम मिचेर बनाइएका त्यस्ता संरचनाहरु सूची तयार पार्न समेत पूर्वाधार महाशाखालाई निर्देशन दिइसकेको जानकारी दिनुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस