घोराही, १५ कार्तिक । घोराही उपमहानगरपालिका मातहतमा रहेका स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा कार्यक्रम सुरुभएको छ । उपमहानगरपालिका अन्तर्गत रहेको स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सुरु भएको हो । उपमहानगरको जनस्वास्थ्य प्रवर्द्धन समितिको आयोजनामा दुईदिने समीक्षा कार्यक्रमको नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभयो ।

उपमहानगरको मातहतमा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्रका इन्चार्ज तथा प्रतिनिधिहरुले वर्षभरी गरेका कार्यको प्रस्तुतिकरण गरेका छन् । त्यसैगरी अन्य गैरसरकारी स्वास्थ्य क्षेत्रमा क्रियाशील संस्थाहरुले पनि नगर क्षेत्रमा गर्दै आएका कामका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ ।

नगरको जनस्वास्थ्य प्रवर्द्धन समितिका संयोजक खोपीराम चौधरीको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारको विशिष्ट आतिथ्यतामा सुरु भएको कार्यक्रममा स्वास्थ्य केन्द्रका इन्चार्जहरुले आफूहरुले प्रवाह गरेको सेवाका बारेमा जानकारी दिएका छन् ।

भएका स्रोत साधनको अधिकतम प्रयोग गर्दै बिरामीहरुको उपचार तथा परामर्श दिने काम भएको स्वास्थ्यकर्मीहरुले प्रतिवेदन प्रस्तुत गरेका छन् । केन्द्रमा आधारित सेवालाई चौबिसै घण्टा प्रवाह गरिरहेको स्वास्थ्यकर्मीहरुले जानकारी गराएका छन् ।

नगरको मातहतमा झण्डै २ दर्जन स्वास्थ्य केन्द्रहरु रहेका छन् । नगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ठाकुर खनालले गर्नुभएको थियो । समीक्षा कार्यक्रम शुक्रबारसम्म चल्नेछ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस