घोराही, १५ कार्तिक । घोराही उपमहानगरपालिकाले प्रविधिसँग सेवाग्राहीलाई जोड्दै गएको छ । कम्प्युटर प्रणालीबाट कर सङ्कलन गरिरहेको उपमहानगरले व्यक्तिगत घटनाहरुलाई पनि अनलाइन पद्धतिमार्फत अघि बढाउन थालेको छ ।

यसैक्रममा उपमहानगरको वडा नम्बर ४ र ७ बाट आजदेखि व्यक्तिगत घटना दर्ताहरु अनलाइनमार्फत सुरक्षित गर्न थालेको हो । वडा नम्बर ४ मा नगर प्रमुख नरुलाल चौधरीले युवराज आचार्य र प्रजिता बजगाँईलाई विवाह दर्ताको प्रमाणपत्र प्रदान गरेर व्यक्तिगत घटना दर्तालाई अनलाइन पद्धतिबाट सुरुवात गर्नुभएको हो ।

यसैगरी वडा नम्बर ७ मा पनि व्यक्तिगत घटना दर्तालाई आजैबाट अनलाइन पद्धतिमा लगिएको छ । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा कार्यक्रमको आयोजना गरी नगर प्रमुख नरुलाल चौधरीले सुनिता सुवेदीकी छोरी सान्भी घिमिरेको जन्मदर्ताको प्रमाणपत्र हस्तान्तरण गरी सेवा शुभारम्भ गर्नुभयो । नगर प्रमुख चौधरीले जन्म, मृत्य, विवाह लगायतका व्यक्तिगत घटनाका ८ वटा दर्ता प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

निजी जीवनका घटनाहरुलाई कानुनी मान्यता दिने सरकारको नीतिअनुसार कम्प्युटर प्रणालीबाट सुरक्षित र सजिलो गराउने अभियानमा उपमहानगर रहेको चौधरीले बताउनुभयो । साथै उहाँले समयमै व्यक्तिगत घटनाहरु दर्ता गराउन समेत सबै नगरबासीहरुलाई आह्वान गर्नुभएको छ । व्यक्तिगत दर्ता प्रक्रियालाई कम्प्युटरमार्फत सुरक्षित गरी आवश्यक परेको समयमा जुनसुकै स्थानबाट पनि प्राप्त गर्न सकिने उहाँको भनाइ छ ।

वडा सचिव चन्द्रबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सामाजिक परिचालक विमल योगीले गर्नुभएको थियो । वडा नम्बर ७ ले यस अघि भदौ २३ गतेदेखि वडा कार्यालयबाटै कम्प्युटरमार्फत राजस्व संकलन सुरु गरेको थियो । वडाले अहिले ६ सय ५४ जनाले राजस्व बुझाउँदा ४ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । साथै वडाले १७ वटा व्यवसायको समेत दर्ता गरेको जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस