घोराही, १५ कार्तिक । घोराही उपमहानगरपालिकाले उपमहानगरपालिकामा दर्ता भएका अटो टेम्पोहरुलाई मात्रै सञ्चालन गर्नदिने निर्णय गरेको छ । उपमहानगरपालिकाको टेम्पो तथा ई—रिक्सा व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले नगरमा ५ सय वटा अटो तथा टेम्पोहरुलाई मात्रै दर्ता गराउने यसअघिको निर्णय अनुसार अब दर्ता नभएकोहरुलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

समितिका संयोजक एवं उपमहानगरका उपप्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा आज बसेको समिति बैठकले उपमहानगरमा दर्ता नभई सञ्चालनमा आउने अटो तथा टेम्पोहरुलाई रोक लगाउन ट्राफिक प्रमुख मदनबहादुर कुँवरलाई जिम्मेवारी दिएको छ । समितिको यस अघि २०७५ साल वैशाख २० गतेको बैठकले बढ्दो सवारी यातायात र सडकको अवस्थालाई मध्यनजर गरी ५ सय वटा अटो टेम्पोहरुलाई मात्रै सञ्चालन गर्न रुटपरमिट दिने निर्णय गरेको थियो । बैठकले उपमहानगरपालिकामा दर्ता भएका सवारी साधनलाई दर्ता नम्बर, राजस्व प्रमुखको हस्ताक्षर र कार्यालयको छापसहित स्टिकर जारी गर्ने निर्णय भएको छ ।

त्यसैगरी उपमहानगरपालिकाले निर्धारण गरेको पार्किङ स्थलमा मात्रै पार्किङ गर्ने र यातायात व्यवस्था कार्यालयले निर्धारण गरेको भाडादर सबैले देख्नेगरी अटो पार्किङस्थलमा र प्रत्येक अटो टेम्पोहरुमा टाँस गर्ने निर्णय गरेको छ । साथै दर्ता भएको अटो टेम्पोहरुलाई दिने स्टिकर र प्रालिहरुबाट जारी भएका स्टिकरको रंग र नमुना फरक–फरक गरी टेम्पोहरुमा टाँस्ने निर्णय भएको समितिले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस