विजौरी, १७ कार्तिक । २०५१ सालमा भएको विजौरी गोलिकाण्डका सहिदको सम्मानमा तुलसीपुर र विजौरीमा बेग्ला बेग्लै कार्यक्रम आयोजना गरियो । तुलसीपुरमा आयोजना गरिएको कार्यक्रमलाई नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुषालले सम्वोधन गर्नुभएको थियो ।

नेकपा दाङ र पूर्व विद्यार्थी युवा समाजले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै भुषालले सहिदहरुको बलिदानीलाई खेर जान दिन नहुँने बताउनुभयो । बिजौरी गोलीकाण्डको २४ स्मृति दिवसमा शनिबार ‘नेपालको राजनीतिक परिवर्तनमा सहिदहरुको योगदान र भावी दिशा’ विषयक विचार विमर्ष कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले सहिदहरुको त्याग, रगत र बलिदानीले नै मुलुकले संविधानसभाबाट संविधान प्राप्त गरी समृद्धिको मार्गमा अघि बढेको बताउनुभयो ।

अबको कार्यदिशा सहिदहरुले नेपालको समृद्धिका लागि गरेको वलिदानीलाई आत्मसात् गर्दै समृद्ध मुलुक निर्माण गर्नुपर्ने कर्तब्य रहेको उहाँको भनाइ थियो । ‘नेपाललाई यो मार्गसम्म ल्याउन सहिदहरुको भूमिका एकदमै महत्वपूर्ण छ’ उहाँले भन्नुभयो । ‘समृद्ध मुलुक बनाउने उहाँहरुको चाहनालाई आत्मसात् गर्नुपर्छ, शहिदरको रगत खेर जान दिनुहुँदैन्’ भुषालले भन्नुभयो ।

अर्को फरक प्रसंगमा नेता भुसालले मुलुकलाई समृद्ध बनाउन सबैभन्दा पहिले ब्यापार घाटालाई पूर्ति गर्नुपर्ने भनाइ राख्नुभयो । ‘अहिले हामीले एक रुपैयाँमा सामान बिक्री गरेर १५ रुपैयाँको सामान किन्ने अवस्थामा छौं, यसले हामी १५ गुणा व्यापार घाटामा छौं, यसलाई पूर्तिगर्नुपर्ने हाम्रो पहिलो कार्यभार हो । अर्थतन्त्रको विकास हुन सकेन भने मुलुकलाई समृद्ध बनाउने सपना अधुरै रहनेछ’ उहाँले भन्नुभयो ।

पार्टीको एकता प्रक्रियालाई समयमै टुंग्याउनु पर्ने भए पनि विभिन्न कारणले समस्या देखिएको भन्दै यसलाई हल गरेर लैजाने समेत बताउनुभयो । अहिले पार्टीमा बिकृति फैलिएको भन्दै तल्ला कमिटी देखि मथिल्ला कमिटीमा पार्टीलाई सुधार गरेर लैजानुपर्ने भएकाले पनि ढिला भएको उहाँको भनाइ थियो ।

त्यस अवसरमा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले पार्टीमा विधि र बिधान विपरित जिम्मेवार दिने काम भएको बताउनुभयो । पार्टीको एकताको क्रममा नातावाद र कृपावाद भएको उहाँको आरोप थियो । नेकपा एमाले दाङका कार्यदल सदस्य टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कार्यदलका अर्का सदस्य रामजी चौधरी, नेकपाका नेता शोभाराम बस्नेत, तुलसा केसी, छविलाल वली लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सुरामणि बेल्बासेले गर्नुभएको थियो ।

यता बिजौरीमा नेकपा तुलसीपुरले आयोजना गरेको कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको थियो । भूपबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य भागवत विश्वासीले सहिदकै कारणले गर्दा नेपालमा परिवर्तन सम्भव भएको धारणा राख्नुभयो । उहाँले विजौरी काण्ड नेपाली काँग्रेसको सर्वसत्ताबादको नमूना भएको धारणा राख्नुभयो ।

कार्यक्रममा सहिद नारायण चौधरी र कृष्ण चौधरीका धर्मपत्नीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन रामबहादुर दहितले र स्वागत माधव वलीले गर्नुभएको थियो । २०५१ साल कात्तिक १७ गतेका दिन मध्यावधि निर्वाचनको प्रचार प्रसारका क्रममा एमालेको जुलुसमाथि अन्धाधुन्ध गोली प्रहार गरिदा तीनजनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । सोही घटनाको सम्झनामा विगतमा एमाले दाङले हरेक वर्ष कात्तिक १७ गतेका दिन स्मृति दिवस मनाउँदै आएको थियो भने यस वर्ष नेकपाले कार्यक्रम आयोजना गरेको थियो । सो गोली काण्डमा कृष्ण चौधरी, नारायण चौधरी र पुष्प घिमिरेको ज्यान गएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस