लक्ष्मी केसी

Advertisements
मलाई मन पर्ने रंग रातो । त्यही रातो रंगले म महिनामा पाँच दिन रंगिन हुन्छु तर ती पाँच दिन मेरा लागि कठिन बन्छन् । म भान्सा कोठामा गई परिवारसँगै बसी खाना खान सक्दिन, बुवासँग बस्न पाउँदिन, मन लागेको काम गर्न पाउँदिन । उता नजाऊ, यता नआऊ छोइन्छ । यस्तै यस्तै शब्दले यी पाँच दिन किन आउँछन् जस्तो लाग्छ । यस्तै समस्यामा म जस्तै सबै महिला र किशोरी बाँचिरहेका छौं । परम्पराका नाममा यो हिंशाको रुपलाई हामीले झेलिरहेका छौं ।
एउटी बालिका जब किशोराबस्थामा प्रवेश गर्छिन्, उनमा शारीरिक र मानसिक परिवर्तन हुन थाल्छन् । जसमध्ये महिनावारी प्रमुख शारीरिक परिवर्तन हो । प्रत्येक महिनाको २८/२८ दिनको नियमित प्राकृतिक प्रक्रिया जसले एउटी महिलालाई मातृत्वका लागि आधार प्रदान गर्छ तर हाम्रो समाजमा धर्म, संस्कार, सामाजिक नियम तथा परम्पराका नाममा ‘नछुने’ जस्तो शब्दका साथै मानसिकरुपमा पिडा दिने व्यवहार गर्ने र गराउने गरिन्छ ।
महिनावारी भएको समयमा भान्सामा जान नहुने, पानी छुन नहुने, पुरुषसँग छोइन नहुने, फलफूल तथा तरकारीका बिरुवा छुन नहुने, दुधदही छुन नहुने, पूजा गर्न नहुने, मन्दिर जान नहुने, शुभकार्यमा सहभागी नहुने जस्ता बर्जित गरिएका थुप्रै व्यवहारहरु छन् । त्यसैगरी पहिलो महिनावारी हुदा ५दिन कुनामा लुक्नुपर्ने घाम तथा पुरुषको मुख हेर्न नहुने,महिनावारीभन्दा अघि बालिकालाई कुना राख्ने आदि जस्ता चलन पनि यथावत नै छन् ।महिनावारी एक प्राकृतिक नियम हो भन्ने जान्दाजान्दै पनि हामी समाजका यस्ता गलत व्यवहारहरुलाई स्विकारिरहेका छौं  । नेपालका केही जिल्लाहरुमा छाउपडी जस्ता कुप्रथा रहेको छ भने सुगम र शिक्षित क्षेत्रमा पनि यसको अंशका रुपमा ‘नछुने’ प्रथा रहेको छ ।
बिशेषगरी चेतनाको कमी भएका क्षेत्रमा यस्तो व्यवहार धेरै रहे पनि शहरी क्षेत्रका शिक्षित बर्ग पनि अछुतो देखिदैन । समय र समाजको परिस्थिती अनुसार प्राचिन समाजले तत्कालिन समाज अनुकूल महिनावारीबारे व्यवहारहरु बनायो जुन अब समय अनुसार परिवर्तित हुन जरुरी छ । प्राचिन समयमा महिनावारी हुँदा बग्ने रगतलाई उचितरुपमा व्यवस्थापन गर्ने साधनको विकास तथा पर्याप्तता थिएन जसले गर्दा रगत नियन्त्रण नभई महिलालाई काम गर्न कठिन हुने भएकाले ‘नछुने’ नियम बनाएको पाइन्छ । महिलाले पुरुषको तुलनामा धेरै काम गर्नुपर्ने बाध्यता र कामबाट आराम पनि गर्न नपाउने अबस्थामा महिनावारीलाई आराम गर्ने समयका रुपमा लिएको बुझिन्छ ।
त्यसैगरी पहिले पहिले मन्दिर धेरै टाढा हुने र जंगलको बाटो भई जानुपर्ने हुन्थ्यो । महिनावारीको समयमा शरिरबाट ताजा रगत बग्ने र जुन जनावरले गन्ध पाई महिलालाई आक्रमण गर्ने जोखिम रहन्थ्यो । त्यसकारण महिनावारीको समयमा मन्दिर जान निषेध गरिएको देखिन्छ । यसरी प्राचिन समाजको अबस्था अनुसार महिनावारी सम्बन्धी बिभिन्न नियमहरु बनाएको पाइन्छ ।
प्राचिन समाजमा महिलाको भूमिका सिमित थियो । महिलाहरु निश्चित घेराभित्र बाँधिएका थिए तर अहिले महिलाको दायरा फराकिलो भएको छ । महिलाहरु घरधन्दामा सिमित नभई पुरुषसँग समान काममा सहभागी भएका छन् । समाज बदलिएको छ । बदलिदो समाजसँगै महिलाका भूमिका र जिम्मेवारी बढेका छन् । यस्तो अबस्थामा प्रत्येक महिना हुने महिनावारीलाई ‘छुन नहुने’ समयका रुपमा प्रयोग गर्नु र गराउनु कति सान्दर्भिक होला ? यो बारेमा गम्भिर भई सोच्नु आबश्यक छ । महिलाहरु आफै पनि सचेत हुन अझ बढी जरुरी छ । वर्तमान समयमा महिनावारी हुँदा पानीको मुहान नछुने, भान्साको काम नगर्ने जस्ता चलनहरुमा हामी महिलाहरु अल्झिएका छौं ।
हामीमध्ये कति त महिनावारी प्राकृतिक प्रक्रिया हो भन्ने जान्दाजान्दै पनि महिनाका ती पाँच दिनलाई ‘नछुने’ दिनका रुपमा लिइरहेका छौं भने कतिपयले अरुबाट तिरस्कृत भईने डरले ‘नबार्ने’ कुरा खुलेर भन्न सकिरहेका हुँदैनौं ।अरुले के भन्नलान भन्ने लाज र डरले  होस् वा जे जसरी भएपनि हामी अझै पनि परम्परावादी सोचबाट माथि उठ्न सकिरहेका छैनौं । महिनावारीलाई पापसँग जोडी पञ्चमी पूजा गर्ने, महिनावारी भएका महिलासँग छोइए जनई फेर्ने, सुनपानी छर्केर चोखो हुने जस्ता चलन हामीबाट अझै पनि हट्न सकेका छैनन् ।त्यति मात्र होइन बिशेष अबसर वा चाडपर्वहरुमा महिनावारी भएमा ती कार्यक्रमहरुमा सहभागी हुन बर्जित भएकालेे कतिपय महिलाहरुले महिनावारीलाई पर सार्नका  लागी विभिन्न होर्मोनयुक्त औषधिको सेबन गर्ने गरेको पाइन्छ। ती औषधिको अधिक प्रयोग हुँदा पर्न जाने असरका बारेमा जानेर वा नजानेर नै हामी महिलाहरू ती औषधि प्रयोग गर्न बाध्य छौं । त्यस्ता औषधिको प्रयोग बिशेषगरि शिक्षित महिला तथा शहरी क्षेत्रमा नै अधिक हुने गरेको पाईन्छ।
मध्य तथा सुदूरपश्चिमका केही ठाउँहरुमा महिनावारी हुँदा घरबाहिर छाउगोठमा बस्नुपर्ने बाध्यता देखिन्छ भने महिनावारी चलिरहेको समयमा किशोरी र शिक्षिका बिद्यालय जानबाट बञ्चित हुन्छन् । यसरी शिक्षिका र किशोरी हरेक महिना पाँच दिन बिद्यालय नजाँदा अध्ययन अध्यापनमा कस्तो असर पर्छ होला ? छाउगोठमा बस्दा महिलाको मानसिक र शारीरिक अबस्था बिग्रन्छ । महिनावारीको समयमा शरिरबाट बग्ने रगत शुद्ध र ताजा हुन्छ । त्यो समयमा शरीरलाई पौष्टिक आहराराका साथै सरसफाइको पनि त्यतिकै महत्व रहन्छ ।तर ती पाँच दिन छाउगोठमा बिताउदा ती दिन के स्वस्वस्थ बन्न सक्छन् त? त्यति  मात्र नभई महिला र किशोरी बलात्कारका शिकार हुने गरेका छन् । कतिपयले त मृत्युवरण समेत  गरेका छन् ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा महिनावारीका आधारमा विभेद गर्ने कुरालाई निषेध गरिएको छ । ऐनको दफा १६८ मा अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने शिर्षक अन्तर्गत उपदफा (१) मा कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउन नहुने व्यवस्था छ । उपदफा (३) मा महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख छ । उपदफा (४) मा यस्तो कसूर गर्ने व्यतिmलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । उपदफा (५) मा राष्ट्रसेवकले यस्तो कसूर गरेमा निजलाई थप तीन महिनासम्म कैद सजाय हुने उल्लेख छ ।
यसरी कानूनले निषेध गरेका कुरा पनि हाम्रो समाजमा सहजरुपमा भैरहेका छन् । महिनावारीका समयमा गरिने यस्ता विभेद्पूर्ण व्यवहारले महिलालाई शारीरिक र मानसिकरुपमा नजानिदो तरिकाले बिक्षिप्त बनाउँदै गएको छ भने महिलाका दैनिक काम र जिम्मेवारीमा पनि प्रत्यक्ष अप्रत्यक्षरुपमा प्रभावित बनाएको छ । महिनावारीलाई हेर्ने र बुझ्ने तरिकामा सकारात्मक नहुँदा हाम्रा किशोरीहरु महिनावारी हुनुलाई ठूलो समस्यका रुपमा लिन्छन् । घर, बिद्यालय तथा समाजमा गरिने व्यवहारले महिनावारी हुन नपरे पनि हुन्थ्यो भन्ने गुनाशो पनि गरेको देखिन्छ । महिनावारीलाई  जवसम्म मर्यादित बनाउन सकिदैन तबसम्म यस्ता व्यवहार र गुनाशाहरु हट्न सक्दैनन् । तपाईं एकपटक सम्झनुहोस् त महिनावारी सम्बन्धी भएका परम्पराका कारण तपाईले कुनै महत्वपूर्ण कार्य वा अवसर छुटाउनुभएको छ की ? पक्कै पनि छुटाउनुभएको छ र ती अवसर गुम्दा मानसिकरुपमा बिक्षिप्त पनि हुनुभएको होला । त्यस्तै महिनावारी भएको समयमा तपाइको परिवारले समयमै खाना पाएको छ? दैनिकी सहज रुपमा संचालित हुन्छ ?पहिलो महिनवारी हुँदा किशोरीले ति पाँच दिन घामको मुख नहेरी लुकेर बस्दा उसको मनसिक तथा शारीरिक स्वास्थ्यका साथै दैनिक गरिने काममा कति असर पर्छ होला ?अरु  दिन घरकी रानी भनिने महिलाले ती दिनमा छोएको पानी नखाँदा वा पानी नछोउ भन्दा कस्तो लाग्छ होला ? एकपटक सोच्ने हो की ?
महिनावारी भएका कारणले कुनै पनि महिला र किशोरीले विभेद् भोग्नु नपरोस् । कुनै अवसरबाट बञ्चित हुन नपरोस् । यसका लागि घर, समाज, बिद्यालय र राष्ट्रले महिनावारीलाई मर्यादित बनाउन पहल थाल्नुपर्छ । शुरुवात भने आफूबाटै गर्नुपर्छ ।म महिनावारीलाई प्राकृतिक नियम भनी सहर्ष स्विकार्छु र यससँग सम्बन्धित गलत व्यबहार अपनाउने छैन भनी आफैसङ किशोरिले सर्बप्रथम प्रण लिनुपर्छ।यसका लागी आमा बाबुले आफ्ना हुर्कदै गरेका किशोर किशोरीलाई महिनावारी वास्तविक प्रक्रिया बताएर सहयोग गर्नुपर्छ भने घरमा महिनावारीसम्बन्धी गलत व्यबहार सिकाउनु हुदैन।बिद्यालयमा तहगत रुपमा महिनावारीसम्बन्धी पाठ्यक्रम लागूगर्नुपर्छ साथै बिध्यालय तथा कार्यालयमा  महिलामैत्री सौचालयको ब्यबस्थापन गरिदिनुपर्छ। महिनावारीलाई मर्यादित बनाउने कर्यमा सबै क्षेत्र,तह र ब्यक्तिहरुको महत्वपुर्ण भुमिका रहन्छ ।पहिलेदेखी चली आएको चलन परिबर्तन गर्न केहि बाधा त अबस्य हुन्छ तर परिबर्तन गर्ने इच्छाशक्ति र सहयोग भएमा असम्भव छैन।यो परिबर्तनलाई म तपाई अनि हामी सबैको आबस्यक छ ।अझ  पुरुषको सहयोग  त  झन्  धेरै अपरिहार्य छ । मेरो सपना छ अब हरेक महिला र किशोरीले निर्धक्सँग महिनावारी भएको छु भन्न सकून् ।ती रातो रङ्गले रंगिन भएका दिन दुखद  नबनुन ।रातो रंगले रंगिनुलाई अभिशाप नभई अवसरका रुपमा लिऊन् । अनि किशोरीले भन्न सकून्– म महिनावारी भएकी छु, म रातो रंगले रंगिएकी छु।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस