घोराही, १ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले समाजको चौतर्फी विकासमा युवा नेतृत्वको आवस्यक रहेको बताउनुभएको छ । राप्ती क्लब दाङ घोराहीको प्रथम साधारणसभा एवं अधिवेसनको शनिबार उद्घाटन गर्दै नगर प्रमुख चौधरीले अब युवाहरुले विकासको नेतृत्व गर्नुपर्ने बताउनुभएको हो ।
समाजको चौतर्फी विकास अब युवाहरुबाटै सम्भव रहेको भन्दै थप जिम्मेवार र अनुशासित बन्न आवस्यक रहेकोमा समेत जोड दिनुभयो । सिर्जनशील युवाहरुको आवस्यक राज्यलाई परेको भन्दै सामाजिक क्षेत्रको एकीकृत विकासको जिम्मा अब युवाको काँधमा आएको समेत स्पष्ट पार्नुभयो ।
समाजका जल्दाबल्दा समस्याहरुको समाधानका लागि युवाहरु जागरुक हुनुपर्ने भन्दै उहाँले युवाहरुको जिम्मेवारीमा सीमितता नभएको बताउनुभयो । खेलकुद मात्रै नभई समाजका अन्य विकासलाई समेत अगाडि बढाउन युवाहरु जाग्नुपर्ने बेला आएको र स्थानीय सरकारले आवस्यक सहयोग गर्ने बताउनुभयो ।
क्लबका अध्यक्ष वसन्त पुरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोकामगर, जिल्ला फुटवल संघका अध्यक्ष सुशील श्रेष्ठ, क्लबका सल्लाहकार केदारराज श्रेष्ठ, मानार्थ सदस्य नारायणसिंह गुरुङ, वडा नम्बर १५ का सदस्य सनतकुमार श्रेष्ठ, नवलपुर युवा क्लबका अध्यक्ष दीपक पुनलगायतले समाजको विकासमा युवा सहभागिता अनिवार्य र युवाहरुको चासो अपरिहार्य भएको बताउनुभयो ।
कार्यक्रममा क्लबले नारायणसिंह गुरुङलाई मानार्थ सदस्यता दिएको छ भने अन्य एक दर्जन बढीलाई आजीवन सदस्यता दिएको छ । क्लबका कोषाध्यक्ष श्याम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य रोशनमान श्रेष्ठले गर्नुभएको थियो ।
यसैबीच क्लबका प्रथम अधिवेशनले वसन्त पुरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा विमल थापा, सचिवमा श्यामकुमार गिरी र कोषाध्यक्षमा प्रकाश श्रेष्ठलाई चयन गरिएको छ ।
त्यसैगरी सदस्यहरुमा सन्देश श्रेष्ठ, विमल श्रेष्ठ, गोपाल श्रेष्ठ, देवेन्द्रसिंह ठकुरी, भीमसेन केसी, लक्ष्मी नकर्मी र रोशनी थापा चयन हुनुभएको सचिव श्यामकुमार गिरीले जानकारी दिनुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस