घोराही, १३ मंसिर । दाङको घोराहीमा बिहीबार बेलुका एकजना हार्डवेयर व्यवसायीको हत्या भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ लामीडाँडाको दूधेसोतामा रोल्पा माडी गाउँपालिका ६ कोर्चाबाङ स्थायी घर भएका ४६ वर्षीय नन्दबहादुर घर्तीमगरको छुरा प्रहार गरी हत्या भएको हो ।
घर्तीलाई गम्भीर घाइते अवस्थामा स्थानीयले फेला पारेपछि अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले घर्तीको शरीरमा प्रहार भएको चक्कु समेत फेला पारेको छ । घर्तीमगरले घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँबसपार्कको माथिल्लो सेवार पुल नजिकै माडी हार्डवेयर पसल सञ्चालन गर्दै आउनुभएको थियो ।
दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार छुरा प्रहारबाट गम्भीर घाइते भएका घर्तीमगरलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा पुर्‍याइएको र त्यहाँ चिकित्सकले मृत घोषित गरेका थिए । बिहीबार बेलुका रात पर्नेबेला एकजनाले ५ लाख रुपैयाँको हार्डवेयरको सामान खरिद गरेको र २ लाख ५४ हजार रुपैयाँ अपुग भएपछि पसल धनी घर्तीलाई तपाई जमानी बसेपछि पैसा दिन्छ जाउ लिन भनेर लगेर गएको र आधा घण्टामा घटनाका बारेमा स्थानीयले खबर गरेको पारिवारिक स्रोतले जनाएको छ । सामान खरिद गर्न आएका रोल्पा तालाबाङका अमर खत्री भएको र उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । पक्राउ परेका व्यक्ति पनि घाइते भएको र घरमा पुगेर रगत लागेको कपडा फेरिसकेको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । घटनालाई गम्भीर रुपमा लिँदै एसपीकै कमाण्डमा प्रहरी परिचालन गरेर थप अपराधीको खोजी र अनुसन्धान भैरहेको उहाँको भनाइ छ ।
व्यावसायीक सुरक्षा दिलाउन माग
यसैबीच दाङ जिल्ला उद्योग बाणिज्य संघले व्यवसायिक सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रहरी प्रशासनसँग माग गरेको छ । घटना पश्चात संघका अध्यक्ष नारायणप्रसाद भुसालले आइतबार बेलुका माडी हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरको हत्याले आफूहरु निकै दुःखी र असुरक्षित भएको बताउनुभएको छ । शान्ति सुरक्षासँगै व्यावसायिक सुरक्षालाई भरपर्दो बनाउन स्थानीय प्रहरी प्रशासनसँग उहाँले माग गर्नुभएको छ । साथै हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कार्वाही गर्न समेत माग गर्नुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस