घोराही, १३ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नं. २ स्थित जनता माध्यमिक विद्यालय बुकामा अबदेखि वनभोज तथा भ्रमण जानका लागि विद्यालय व्यवस्थापन समितिको अनुमति लिनु पर्ने भएको छ । विद्यार्थीहरु पढाइ छोडेर जथाभावी घुम्न जाने क्रम बढेको भन्ने अभिभावकको गुनासो आएपछि विद्यालयमा भएको अभिभावकहरुको भेलाले यस्तो निर्णय गरेको हो ।
अभिभावक भेलामा बोल्दै प्रमुख अतिथि एवं घोराही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष केशवराज आचार्यले विद्यालयमा देखिएको बेथिति अन्त्य गर्न वडा क्रियाशील रहेको बताउनुभयो । वडाका सम्पूर्ण विद्यालयहरुमा नियमित अनुगमन भइरहको भन्दै उहाँले १० बजेपछि आउने विद्यार्थी एवं शिक्षकलाई अबका दिनदेखि विद्यालय प्रवेशमा रोक लगाइने बताउनुभयो । वडाका हरेक विद्यालयमा बालमैत्री वातावरण निर्माण गर्न आफूले पहल चालेको बताउँदै अध्यक्ष आचार्यले त्यसका लागि शिक्षक, विद्यार्थी दुवैमा देखिएको छाडापनको अन्त्य हुन जरुरी भएको बताउनुभयो । शिक्षक, विद्यार्थी एवं अभिभावकको त्रिपक्षीय सम्बन्ध सुमधुर हुन सके मात्र विद्यार्थीहरुको सिकाइ उपलब्धि बढ्ने उहाँको धारणा थियो ।
उक्त अवसरमा बोल्दै विशिष्ट अतिथि एवं रामपुर स्रोतकेन्द्रका स्रोतव्यक्ति विप्लव अधिकारीले विद्यालयका हरेक गतिविधिमा अभिभावक चनाखो हुनुपर्ने बताउनुभयो । विद्यालयको आर्थिक स्रोत व्यवस्थापन, भौतिक निर्माण एवं बालबालिकाको अवस्थाबारे नियमित जानकारी, निगरानी र खबरदारी भए मात्र लक्ष्य अनुरुपको उपलब्धि प्राप्त हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चेतनाथ गौतमले विद्यालयको आम्दानी तथा खर्च प्रस्तुत गर्नुभएको थियो । जसअन्तर्गत विद्यालयको आम्दानी ६ लाख १ हजार र खर्च ७ लाख ८० हजार रहेको उहाँले जानकारी दिनुभयो । विद्यालयमा आम्दानीभन्दा खर्च बढी भएको जानकारी दिँदै उहाँले विभिन्न व्यक्तिको सहयोग एवं सरकारी अनुदान विद्यालयलाई आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष अग्नि धिताल, पशुपति चौधरीलगायतले मन्तव्य व्यक्त गनुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक कमलराज पोख्रेल गर्नुभएको थियो भने स्वागत मन्तव्य सहायक प्रधानाध्यापक पुरन पोख्रेलले व्यक्त गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस