घोराही, १३ मंसिर । राष्ट्रिय जनमोर्चा दाङले आगामी पुस र माघ महिना भरी दुईमहिने साङ्गठानिक अभियान सञ्चालन गर्ने भएको छ । जिल्ला समिति दाङ देउखुरीको बुधबार बसेको बैठकले अभियान संचालन गर्ने निर्णय गरेको हो ।

जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको बैठकले पार्टीले सञ्चालन गरेको घरदैलो तथा सदस्यता अभियानको समीक्षा गर्दै त्यो दौरानमा सदस्यता लिएका सबैलाई संगठित गर्ने योजनाका साथ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । साङ्गठनिक अभियान चलाउँदै विगतमा शुरु गरेको भ्रष्टाचार बिरोधी तथा कर वृद्धि र संघीयताका विरुद्धका कार्यक्रम पनि जारी रहने जिल्ला अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

बैठकले संगठन सम्बन्धी विभिन्न योजना तर्जुमा गर्नुका साथै बुटवलमा पुस २७ र २८ गते हुने राष्ट्रिय परिषद् बैठकको तयारी गर्ने निर्णय समेत गरेको छ । बैठक पछि जिल्ला अध्यक्ष आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा प्राकृतिक श्रोत साधन माथिको दोहन रोक्दै निश्चित मापदण्ड बनाई प्राकृतिक श्रोतमाथि भएको कालोबजारी रोक्न माग गरिएको छ ।

जिल्लाका मुख्य भागमा रहेका केही बाटा र पुलहरु समयमा बन्न नसक्दा जनताले सास्ती बेहोर्नु परेको र जिम्मेवार निकाय यसमा जबाफदेही र जिम्मेवारी बोध नगरेकोमा बैठकले ध्यानाकर्षण गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस