घोराही, १४ मंसिर । घोराही उपमहानगरले अंग्रेजी शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षकहरुलाई तालिम सञ्चालन गरेको छ । उपमहानगरको शिक्षा, युवा तथा खेलुकद महाशाखाले नगरका ३० वटा विद्यालयका अंग्रेजी पढाउने शिक्षकहरुलाई भेला गराई ५ दिने तालिमको आयोजना गरेको हो ।
तालिम शुक्रबारदेखि घोराहीको शान्तिसुधा बोर्डिङ स्कुलमा सुरु भएको छ । अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका विद्यालयका ३० जना शिक्षकहरुलाई एकै ठाउँमा राखेर अंग्रेजी विषयलाई प्रभावकारी ढंगबाट पढाउने योजनाअनुसार तालिम सञ्चालन गरेको महाशाखा प्रमुख श्रीप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले शैक्षिक विकास विना अन्य विकास असम्भव हुने बताउनुभयो । गुणस्तरीय शिक्षाले नै दक्ष र क्षमतावान जनशक्ति उत्पादन गर्ने भन्दै मेहनती बनेर सिकाउन शिक्षकहरुलाई निर्देशन दिनुभयो । शिक्षक अनुशासित, मेहनती र लगनशील भए मात्रै विद्यार्थीले सही शिक्षा पाउने उहाँको भनाइ छ ।
अब शिक्षालाई गुणस्तरीय बनाउने र समय अनुकूल अघि बढाउने उपमहानगरको योजना रहेको भन्दै नगर प्रमुख चौधरीले असक्षम शिक्षकहरुले आफै विकल्प खोज्नुपर्ने बताउनुभयो । समय सुहाउँदो र गुणस्तरीय शिक्षाले नै देशमा दक्ष एवं सक्षम जनशक्ति उत्पादन गर्ने भन्दै नगर प्रमुख चौधरीले विद्यार्थी फेल भए अब शिक्षक पनि फेल भएको मानिने बताउनुभयो ।
त्यसैगरी उपप्रमुख सीता सिग्देल न्यौपानेले विद्यार्थीहरुलाई दबाबमा नभई बोध हुने वातावरणमा पठनपाठनमा ध्यान दिनुपर्ने बताउनुभयो । देश बनाउने आधार शिक्षकको हातमा रहेको भन्दै उहाँले नगरको शिक्षालाई उत्कृष्ट बनाउन थप जिम्मेवार बन्न आग्रह गर्नुभयो । तालिममा श्रीप्रसाद भट्टराई, नारायणप्रासद पौडेल, रामहरि रिजाल, दुर्गा पाण्डे र पुष्कर अधिकारी प्रशिक्षक रहनुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस