दाङ, १५ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका १७ झिंगै निवासी रणबहादुर ओलीको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । उहाँको निधन भएको १३ औं दिनमा नेकपा वडा समितिको आयोजनामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवं ५ नम्बर प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले पार्टी एकतालाई संस्थागत गरेर सरकारका कामकाज प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले पार्टी एकतालाई गाउँसम्म पुर्याउने, संघीयता कार्यान्वायन गर्ने, कानून निर्माण गर्ने र राष्ट्रिय ढुकुटी बढाएर विकास निर्माणमा परिचालन गर्नु अबको कार्यभार भएको बताउनुभयो ।
मृतक ओलीको योगदानको स्मरण गर्दै उहाँलेरुकुमको मुसीकोट ९ हिल गाउँमा रहेको उहाँको घरमा लामो समयसम्म पार्टीको जिल्ला कार्यालय बसेको र आफूहरु छोराछोरीकै रुपमा काम गरेको सम्झना गर्नुभयो । उहाँले हिल गाउँ नेपालको राजनीतिक आन्दोलनको ऐतिहासिक गाउँ भएको बताउनुभयो । मरेका मान्छेबाट सिक्नु र उनीहरुको योगदानको अनुशरण गर्नु बाँचेकहाहरुको लायित्व भएको पनि उहाँले बताउनुभयो ।
नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले हरेक परिवारले मरेपछि तामझासहित सम्झनुभन्दा जीवित रहँदै सुख शान्तिको वातावरण बनाउनुपर्ने बताउनुभयो । स्वर्ग र नर्क भन्ने भ्रम मात्रै भएको उल्लेख गर्दै उहाँले यो अवधारणा मान्नेहरुले पनि हरेक परिवारमा आउने सुख शान्तिलाई स्वर्ग मान्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिकरुपमा धेरै परिवर्तन भएको उल्लेख गर्दै अब यसलाई संस्थागत गर्दै आर्थिक समृद्धिको माध्यमबाट जनताका जीवनस्तर बदल्नुपर्ने बताउनुभयो ।
प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नरेन्द्र केसीले रुकुम हिलका कामी बुढाले २००९ सालमा पहिलोपटक पश्चिम नेपालमा कम्युनिष्ट पार्टी स्थापना गरेको उल्लेख गर्दै उहाँकै प्रेरणाका कारण सो क्षेत्रमा थुप्रै क्रान्तिकारी र क्रान्तिलाई माया गर्नेहरु जन्मेको औल्याउनुभयो । घरपरिवारको तर्फबाट बोल्दै भतिज चन्द्रबहादुर ओलीले डरसँग लडेर केही गर्न सक्ने नै बहादुर हुने ठूला बुवाको धारणा रहेको औल्याउनुभयो ।
मृतक रणबहादुर ओलीका छोरा पूर्णबहादुुर ओलीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शेरबहादुर कुसारीले गर्नुभयो । बिसं १९९८ सालमा रुकुमको हिल गाउँमा जन्मनुभएका ओलीको २०७५ मंसिर ३ गते दाङमा निधन भएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस