घोराही, १५ मङ्सिर । त्रिभुवननगर जेसीजको आयोजनामा दाङको घोराहीमा भएको जेसीज हाप म्याराथनमा काठमाडौँका रमेश मुगरती प्रथम हुनुभएको छ । १०० बढी प्रतिस्पर्धीलाई उछिन्दै उहाँले २१ किलोमिटरको दुरी १ घण्टा १० मिनेट ४५ सेकेण्डमा पार गर्नुभएको थियो । त्यसैगरी काठमाडौँकै सुवास कार्की १ घण्टा १३ मिनेट ४५ सेकेण्डमा दुरी पार गरी दोस्रो र ओमप्रकाश जोशी १ घण्टा १५ मिनेट ६ सकेण्डमा दुरी पार गरी तृतीय हुनुभएको छ ।

Advertisements

त्यस्तै महिलातर्फ प्रहरी बोर्डिङका सर्मिला घर्ती प्रथम, स्यालुट गोर्खाका बिपना केसी द्वितीय र लोटस ट्रेनिङ सेन्टरका देविका वली तृतीय हुनुभएको छ । उहाँहरुले क्रमशः १ घण्टा ४२ मिनेट २६ सकेण्ड, १ घण्टा ४३ मिनेट १३ सकेण्ड र १ घण्टा ४५ मिनेट १२ सकेण्डमा निर्धारित दुरी पार गर्नुभएको थियो ।बालबालिकाको ५ किलोमिटर केटातर्फ पद्मोदय पब्लिक घोराहीका सुनित चौधरी प्रथम, शान्ति सुधा बोर्डिङका सनम वली द्वितीय र गोरखा माविका क्षितिज चौधरी तृतीय हुनुभएको छ । त्यसैगरी केटीतर्फ पद्मोदय पब्लिक घोराहीका अरुणिमा घर्ती मगर प्रथम, बाल विकास मावि घोराहीका एलिना बुढा द्वितीय र दीपशिखा मा.वि.का मञ्जिता अर्याल तृतीय हुनुभएको छ ।प्रतियोगितामा २१ किलोमिटर महिला र पुरुषतर्फका प्रथम, द्वितीय र तृतीय विजेताहरुले क्रमशः २५ हजार, २० हजार र ५ हजार नगदका साथै शिल्ड एवं प्रमाणपत्र हात पानुर््भएको छ । त्यसैगरी बालबालिकाको ५ किलोमिटर बालक र बालिकातर्फका प्रथम, द्वितीय र तृतीय विजेताहरुले क्रमशः ५ हजार, २ हजार र १ हजार नगदका साथै शिल्ड एवं प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

घोराही उपमहानगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि नरुलाल चौधरीले खेलकूदमा त्रिभुवननगर जेसीजले गरेको योगदान प्रशंसनीय रहेको बताउँदै मानव स्वास्थ्य एवं राष्ट्रिय एकताका लागि खेलको महत्वपूर्ण रहेको बताउनुभयो । खेल र स्वास्थ्य एकअर्काका परिपूरक रहेको बताउँदै प्रमुख चौधरीले खेलमा गरिएको लगानी कहिल्यै पनि खेर नजाने बताउनुभयो ।विशिष्ट अतिथिको आसनबाट बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका साथै सामाजिक कार्यमा जेसीजले खेलेको भूमिकाको सराहाना गर्नुभयो ।त्रिभुवननगर जेसीजका अध्यक्ष लालमणि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं त्रिभुवननगर जेसीजका सचिव टंक रावतले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव बुद्धिप्रकाश शर्माले गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरुलाई जेसीजका कार्यकारिणी उपाध्यक्ष मिनराज भाटले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस