घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर ९ को आन्द्राभरैयामा निर्मित शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । वडा अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षतामा एक कार्यक्रम गरी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो ।
उपमहानगरको ११ लाख र स्थानीयको ५७ हजार ८ सय ९४ रुपैयाँ गरी ११ लाख ५७ हजार ८ सय ९४ रुपैयाँको लागतमा तीनकोठे भवन र दुईवटा शौचालय निर्माण गरिएको हो । भवन उद्घाटन गर्दै नगर प्रमुख चौधरीले व्यक्ति स्वस्थ भए मात्रै विकासको गति बढ्ने बताउनुभयो ।
सकभर रोग लाग्नै नदिने गरी स्वास्थ्यमा ध्यान दिन नगर प्रमुख चौधरीले आग्रह गर्नुभयो । जनताको घर नजिकैबाट प्रभावकारी स्वास्थ्य सेवा दिने योजनामा घोराही उपमहानगर रहेको भन्दै उहाँले त्यसको संरक्षण तथा व्यवस्थापनमा स्थानीयहरुको भूमिका अहम् हुने बताउनुभयो । कोही पनि बिरामी उपचार नपाएर छट्पटाउने अवस्था आउन नदिन स्थानीय सरकार सचेत रहेको भन्दै स्थानीयहरुलाई खानपिन, सरसफाई र शारीरिक अभ्यासमा विषेश ध्यान दिन आग्रह गर्नुभयो ।कार्यक्रममा नगर कार्यपालिका सदस्य पशुपती चौधरी, उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर डाँगी, शिक्षक मानबहादुर कार्की, स्थानीय दामोदर डाँगी, लोकबहादुर बस्नेत लगायतले स्वास्थ्य नै धन भएको बताउनुभयो ।
स्थानीयहरुले वडा नम्बर ९ को आन्द्राभरैया विकट क्षेत्र रहेको भन्दै स्वास्थ्य, शिक्षा, सडक, पानी र बिजुलीमा ध्यान दिन स्थानीय सरकारसँग माग समेत गरेका छन् । वडा सदस्य मधुमती गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडाका कर्मचारी सीता चौधरीले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस