घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफ्नै सम्पत्ती ठानेर विकास निर्माणका योजनालाई अघि बढाउन उपभोक्ता समितिलाई आग्रह गर्नुभएको छ । वडा नम्बर १४ ले आज आयोजना गरेको निर्माण उपभोक्ता निर्माण समिति गठन र विकास निर्माणसम्बन्धी तालिममा बोल्दै नगर प्रमुख चौधरीले सरकारी सम्पत्तीलाई आफ्नो नठानेसम्म दिगो विकास हुन नसक्ने बताउनुभयो ।
वडा र नगरका सबै योजनाहरु जनतालाई सम्बृद्धिसँग जोड्नकै लागि तय भएको भन्दै उहाँले आफ्नै सम्पत्ती ठानेर विकासका योजनालाई गुणस्तरीय बनाउन आग्रह गर्नुभयो । जबसम्म आफ्नै सम्झदैन तबसम्म माया नहुने भन्दै उहाँले विकास जनताकै भएको धारणा राख्नुभयो ।
नीति र कार्यविधिमा रहेर मात्रै काम गर्न सुझाव दिँदै उहाँले प्रकृयागत ढंगबाट योजनाका कामलाई गुणस्तरीय र दिगो बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले सबै योजनाहरु विकाससँग जनतालाई जोड्ने आधार भएको भन्दै गुणस्तरीयतामा विषेश ध्यान दिन उपभोक्ताहरुलाई सल्लाह दिनुभयो ।आफ्नै नठानेसम्म काम प्रभावकारी, दिगो र गुणस्तरीय हुनै नसक्ने भन्दै उपभोग गर्नेहरुलाई नै विकास गर्ने जिम्मा दिएको बताउनुभयो । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको तालिममा उपमहानगरका सिनियर डिभिजन इन्जिनियर युवराज पौडेल, लेखापाल प्रकाश विश्वकर्माले योजना सम्झौता, पारदर्शिता र बजेट भुक्तानीका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा वडा नम्बर १७ का अध्यक्ष खुसीराम चौधरी, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, वडा प्रहरी कार्यालयका प्रमुख शशिधर शर्मा, प्राविधिक हरि विष्ट, वडाबासी कीर्तिमान पुन लगायतले विकासमा सामूहिकता आवस्यक पर्ने बताउनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस