घोराही, १८ मंसिर । पाँच नम्बर प्रदेश सरकारले घोराही उपमहानगरपालिका वडा नम्बर ८ र ९ को सीमा हेरफेरका लागि संघीय सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ । वडा नम्बर ८ को ढिकपुरका स्थानीयहरुले आफूहरु वडा नम्बर ९ मा गाभिन चाहेको निवेदन वडा हुँदै उपमहानगरपालिकामा बुझाएपछि उपमहानगरले उक्त पत्र प्रदेश सरकारमा पठाएको थियो ।
प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले ढिकपुर गाउँलाई वडा नम्बर ९ मा गाभ्नका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो । घोराही उपमहानगर वडा नम्बर ९ को दक्षिणतर्फ चयनपुर, उत्तरमा बकुलाई, पश्चिममा अस्परी र पूर्वमा लरैना सोता पर्ने र बीच भागमा वडा नम्बर ८ को ढिकपुर परेकाले त्यहाँका नागरिकहरु ९ नम्बरमा जान चाहेका थिए । उनीहरुले हस्ताक्षरसहितको निवेदन घोराही उपमहानगरमा पठाएका थिए ।वडा कार्यालय पायक नपर्ने र ९ नम्बरको वडा कार्यालय पनि ८ नम्बरमा पर्ने भएकाले स्थानीय र दुबै वडाका अध्यक्षहरुको मन्जुरीअनुसार नगर कार्यपालिका बैठकले प्रदेश सरकारलाई सो पत्र पठाउने निर्णय गरेको थियो । ढिकपुर गाउँमा करिब २ सय घरधुरीका स्थानीयहरुले आफूहरु ८ नम्बरबाट ९ नम्बरमा जान चाहेको पत्र बुझाएका थिए ।
अब करिब २ सय घरधुरीसहित अहिले सञ्चालनमा रहेको वडा नम्बर ९ को कार्यालय, स्वास्थ्य चौकी ढिकपुर र मावि ढिकपुर वडा नम्बर ९ मा पर्नेछन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस