घोराही, १२ पुस । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले विकासको आधार नै शिक्षा भएको बताउनुभएको छ । वडा नम्बर ९ मा रहेको नरदेवि माविको ६३ औँ बार्षिक उत्सव कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले विकासको आधार नै शिक्षा भएको र शिक्षित व्यक्तिबाटै गुणस्तरीय विकास हुने बताउनुभएको हो । गुणस्तरीय र व्यावहारिक शिक्षा आजको आवस्यकता भएको भन्दै उहाँले व्यक्ति शिक्षित भए मात्रै दिगो र गुणस्तरीय विकास हुने बताउनुभयो ।
सामुदायिक विद्यालयमा अभिभावक र  विद्यार्थीको आकर्षण घट्दै जानुले गम्भीर प्रश्न उठाएको भन्दै नगर प्रमुख चौधरीले शिक्षकहरुप्रति सोच्ने बेला आएको धारणा राख्नुभयो । नगरले शिक्षा नीति पारित गर्ने अवस्थामा रहेको भन्दै उहाँले अब नगरको शिक्षालाई गुणस्तरी बनाउन आवस्यक सुधारका पक्षलाई प्राथमिकतामा राखेको बताउनुभयो । पढाउन अल्छी गर्ने शिक्षकहरु आफै किनारा लाग्नुपर्ने वातावरण बनाउन लागेको भन्दै शिक्षकहरुलाई गुणस्तरीय शिक्षामा विषेश ध्यान दिन आग्रह समेत गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अकबरअली मियाको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगर शिक्षा महाशाखा प्रमुख श्रीप्रसाद भटराईले सामुदायिक विद्यालयलाई टिकाउन विद्यार्थीको आकर्षण बढाउनुपर्ने आवस्यकता औँल्याउनुभयो । अभिभावक र बालबालिकाको मन जित्ने गरी गुणस्तरीय शिक्षण सिकाईमा शिक्षकहरुले आफूलाई अब्बल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल खड्काले बार्षिक गतिविधिका बारेमा जानकारी दिनुभएको थियो । विद्यालयमा वर्षेनी बालबालिकाको संख्या घट्दै गएको र बिचमै कक्षा छोड्नेको समेत संख्यामा बृद्धि भएको तथ्यांकले देखाएको थियो । करिब ७ सय विद्यार्थी रहेको विद्यालयमा गतवर्ष मात्रै ८८ जना विद्यार्थीले बिचमै कक्षा छोडेका थिए ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस