दाङ, १२ पुस । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका सहायक प्रिन्सिपल महेश बस्नेत र शिक्षिका एलिजा केसीले छोरी हिमानीको तेस्रो जन्मदिन विद्यालयलाई पुस्तकहरु उपहार दिएर मनाएका छन् ।

जन्मदिनमा अनावश्यक खर्च गर्नुको साटो पुस्तकालय निर्माणका लागि पुस्तक उपहार दिएको सहायक प्रिन्सिपल बस्नेतले जानकारी दिनुभयो । हिमानी पुस १२ गते १२ बजेर १२ मिनेटमा जन्मेकाले उक्त संयोग पारी बिहीबार १२ वटा विभिन्न विधाका पुस्तकहरु विद्यालयलाई हस्तान्तरण गरेको उहाँले बताउनुभयो । पुस्तकहरु ग्रहण गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष चिजबहादुर चौधरीले जन्मदिनलाई रचनात्मक तरिकाले मनाएकोमा बस्नेत परिवारलाई धन्यवाद दिनुभयो । उहाँले अन्य शिक्षकशिक्षिका र विद्यार्थीहरुलाई पनि यस्तै सिर्जनशील तरिकाले जन्मदिन मनाउन अनुरोध गर्नुभयो ।विद्यालयका प्रबन्ध निर्देशक दुर्गालाल केसीले पुस्तकले हजारौं विद्यार्थीहरुलाई ज्ञान बाँड्नसक्ने भएकाले यस्तो कामले जन्मदिन स्मरणयोग्य र उदाहरणीय बन्ने विचार व्यक्त गर्नुभएको थियो । जन्मदिनमा प्राप्त हुने पुस्तकबाट प्रत्येक कक्षामा मिनी पुस्तकालय स्थापनाको योजना बनाएको प्रिन्सिपल केशवराज गिरीले बताउनुभयो ।

यस कदमले फजुल खर्च गरेर जन्मदिन मनाउने चलनलाई निरुत्साहित गर्दै उपलब्धिमूलक काममा लगानी गर्ने बानीको विकास गर्ने उहाँले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस