घोराही, १३ पुस । घोराही उपमहानगरपालिकाको न्यायीक समितिले बितेको १७ महिनामा झण्डै डेढसय मुद्दामा मेलमिलाप गराएको छ । न्यायीक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी अहिलेसम्म न्याय सम्पादनमा गरेका कामहरुका बारेमा जानकारी दिएको हो ।

बितेको आर्थिक वर्षमा न्यायीक समितिका २ सय ५६ वटा विभिन्न प्रकृतिका मुद्दाहरु दर्ता भएकोमा १ सय ५ वटा मुद्दाको मिलापत्रबाट समाधान गरिएको समितिका संयोजक सीता सिग्देल न्यौपानेले जानकारी दिनुभयो । त्यसैगरी चालु आर्थिक वर्षमा ८५ वटा मुद्दा दर्ता भएकोमा ३७ वटा मिलापत्र गरिएको छ ।

यसरी अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्ष गरि १७ महिनामा ३ सय ४० वटा विभिन्न प्रकारका मुद्दाहरु न्यायीक समितिमा दर्ता भएको र तीमध्ये १ सय ४२ वटा मुद्दा मिलापत्रमार्फत टुंग्याइएको संयोजक न्यौपानले जानकारी दिनुभयो ।

समितिमा सबैभन्दा धेरै जग्गाका विवादहरु दर्ता भएका छन् । १७ महिनामा दर्ता भएका जग्गा विवादका १ सय ३८ मुद्दामा ४६ वटा मिलापत्र भएको छ भने लेनदेनमा ६४ उजुरीमध्ये ३० वटा टुंगिएको छ । त्यसैगरी घरेलु हिंसामा ५५ मुद्दामध्ये २४ वटा टुंगिएको छ । समितिमा घरभडा, लिखत बदर, गाली बेइज्जति, वातावरण, कुटपिट, कुलोपानीलगायतका विवादहरु पनि आएका छन् ।

चालु आर्थिक वर्षमा लेनदेनका १३ मुद्दा दर्ता भएकोमा ३ वटा टुंगो लागेको छ भने ३४ वटा जग्गा सम्बन्धी विवादमा २० वटा मिलापत्र भएको छ । त्यसैगरी २१ घरेलु हिंसाका मुद्दा दर्ता भएकोमा ७ वटा मिलापत्र र कुलोपानीका ३ वटा मुद्दामा एउटा मिलापत्र भएको समितिले जनाएको छ ।

समितिका संयोजक न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनार, न्यायीक समिति सदस्य काशीराम खनाल, कानुनी सल्लाहकार भूपबहादुर केसी, नेपाल पत्रकार महासंघ दाङका सचिव भूपेन्द्र वलीलगायतले स्थानीय सरकारले दिने न्यायमा दुबैको जितको महसुस हुनुपर्नेमा जोड दिनुभएको छ ।

समिति संयोजक न्यौपानेले अदालतबाट फैसला भएका तर कार्यान्वयनमा नआएका विवादलाई मिलापत्र गर्ने, सम्बन्ध बिच्छेद गर्न आएकालाई मिलेर घर फर्काउने, जन्मदर्तामा देखिएका समस्या, सम्पत्तीमा हक कायम गराइदिने र हिंसामा परेकाहरुलाई उचित व्यवस्थानका लागि पहल गर्ने काम गरेको जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस