घोराही, १३ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले शुक्रबार पहिलो चौमासीकमा गरेका कामहरुको बारेमा सार्वजनिक सुनुवाई गरेको छ । चालु आर्थिक बर्ष २०७५/७६ को प्रथम सार्वजनिक सुनुवाई गर्दै वडाबासीका सुझाब, गुनासा र प्रतिक्रियाहरु सुन्दै आफुहरुले गरेका कामहरुका बारेमा वडा कार्यालयले जानकारी दिएको छ ।

वडा कार्यालयले पहिलो चौमासिकमा गर्नु पर्ने कामहरु अन्तिम चरणमा पुर्‍याएको र वडा सदस्य तथा कर्मचारीहरुलाई कार्यविभाजनमार्फत कामलाई अघि बढाएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । सबै योजनाका उपभोक्ता समिति गठन भएर लागत सहभागितामा हुने पूर्बाधार विकासका काममा सम्झौता समेत भएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

साथै वडाका विद्यालयहरुमा शिक्षण सिकाईमा सुधारका लागि पहल थालिएको, सरसफाईलाई प्राथमिकता दिएर अघि बढाएको, मासु पसलहरुलाई उचित व्यवस्थापनका लागि प्रकृया थालेको र वडा कार्यालयबाट राजस्व बुझ्ने व्यवस्था सहित कामलाई अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनार, सिनियर डिभिजन इन्जिनियर युवराज पौडेल लगायतले वडाको विकासका लागि टोल विकास संस्थाहरुले जगका रुपमा काम गर्नुपर्ने बताउनुभयो ।

वडा कार्यालयको आयोजना तथा बास दाङको समन्वयमा सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रमको सहजीकरण बास दाङका अध्यक्ष नवीन अभिलाषीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस