घोराही, १४ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको सुपर टोल विकास संस्थाले सवारी दुर्घटनामा पर्नुभएकी घोराही ३ झिङ्नीकी तिला परियारलाई २० हजार रुपैयाँ सहयोग गरेको छ । टोल विकास संस्थाको शनिबार घोराहीमा आयोजित आठौँ अधिवेशन तथा १५ औँ साधारणसभामा परियारलाई २० हजार रुपैयाँ सहयोग गरेको हो ।

गत कार्तिक २१ गते सुपर टोलको उमेशमार्गमा भएको सवारी दुर्घटनामा परी तिलाको शरीरमा तीन वटा सरिया पसेको थियो । परियारको काठमाडौँमा उपचारपछि डिस्चार्ज भएको छ । यसैबीच संस्थाले तिलालाई काठमाडौँमा लगेर उपचारका लागि सहयोग गरेको भन्दै पत्रकार जनक नेपालीलाई ११ सय रुपैयाँसहित सम्मान गरेको छ । साथै पत्रकार नेपालीलाई टोलबासी किरण दाहालले ३ हजार रुपैयाँ पुरस्कार स्वरुप दिनुभयो ।

संस्थाका अध्यक्ष सुशीला आचार्यको अध्यक्षता एवं १५ नम्बरका वडा सदस्य सनत श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष रश्मीराज पाण्डे, बलदेव योगीलगायत टोलका प्रतिनिधिहरुले बजार व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम बढेको बताउनुभयो । सडकमा लाइनिङ तथा गाडी पार्किङ नहुनु, सडकमा खाल्डाखुल्डि बढ्दै जानु, बढ्दो बैङ्कहरुले आफ्नो पार्किङ स्थल नबनाउँदा टोलवासीलगायत पैदलयात्रुहरुले समस्या भोग्नु परिरहेको बताएका थिए ।

संस्थाका सल्लाहकार लीलाधर पन्थीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव खुमानन्द पौडेलले गर्नुभएको थियो ।

यसैबीच संस्थाले नयाँ नेतृत्व समेत चयन गरेको छ । जसको अध्यक्षमा माधव गुप्ता, उपाध्यक्षमा शान्ता घिमिरे, सचिवमा हरि खरेल, कोषाध्यक्षमा मित्रदेव अधिकारी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा गोपाल घिमिरे, विश्वमाया धिताल, किरण दाहाल, थानेश्वर आचार्य र विनोद चौधरी चयन हुनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस