घोराही, १५ पुस । शान्ति सुरक्षा कायम गर्न साझा दायित्वको आवस्यक पर्नेमा एक कार्यक्रमका वक्ताहरुले निष्कर्ष निकालेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले आज घोराहीमा गरेको समुदाय प्रहरी साझेदारी अन्तर्गत शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि सार्वजनिक सुनुवाईमा बोल्ने बक्ताहरुले शान्ति र विकासमा साझा बुझाई हुन आवस्यक रहेको औँल्याएका हुन् ।

शान्ति र विकास एक अर्काको परिपुरक भएको भन्दै सहभागीहरुले शान्तिपूर्ण समाज बनाउनु पनि सबैको दायित्व भएको बताए । सामाजिक न्याय, मेलमिलाप, अपराध नियन्त्रण एउटाको मात्रै जिम्मेवारी नहुने भन्दै साझा दायित्वले मात्रै शान्ति र विकास हुनेमा जोड दिएका हुन् ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले नगरको चौतर्फी विकासका लागि टोलस्तरबाटै सहयोगी भूमिका आवस्यक पर्ने बताउनुभयो । शान्ति विना विकास अघि बढ्न नसक्ने भन्दै उहाँले प्रहरीले ल्याएको समुदाय प्रहरी अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

नगरको विकासका लागि बजार, पार्किङ, सडक, व्यवसायलाई व्यवस्थित गराउने अभियानमै रहेको भन्दै उहाँले अब नागरिकहरुले आफ्नो जिम्मेवारीलाई भुल्न नहुने बताउनुभयो । त्यसैगरी प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो ।

कानुन भन्दा बाहिर गएर काम पनि नगर्ने र कसैले गर्छ भने त्यसलाई नियन्त्रण गर्ने स्पष्ट पार्नुभयो । अनैतिक कार्य रोक्नु सबैको दायित्व भएको भन्दै उहाँले नागरिकहरुले महशुस हुने गरी सुरक्षा दिनेमा आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

त्यसैगरी वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेश पाण्डे, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगी, बस व्यवसायी हिमाल महरा लगाएतकाले प्रहरी डर नभई भरको बन्दै सुरक्षा दिन सक्षम बन्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले ढुक्कका साथ हिड्न, व्यवसाय गर्न पाउनु पर्ने र कानुन बिपरित काम गर्ने जो कोहीलाई नियमन गर्न सक्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण पत्रकार नविन अभिलाषीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस