घोराही, १ मङ्सिर । दाङमा बितेको साढे १० महिनामा १ सय ५१ मानवअधिकार उल्लङ्घन तथा हनन‍्‍का घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गर्दै आएको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि जनवरी १,२०१८ देखि नोभेम्बर १७ सम्म अभिलेख गरिएका घटनाको वार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेकले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
इन्सेककाअनुसार दाङमा सबैभन्दा बढी बलात्कार र घरेलु हिंसाका घटना भए । इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागरले यो वर्ष ५१ वटा बलात्कारका घटना भएको जानकारी दिनुभयो । अघिल्लो वर्ष ३६ वटा बलात्कारका घटना भएका थिए । इन्सेक प्रतिवेदनले यो वर्ष ७ जनाको हत्या भएको र त्यसमा ६ महिला र एक नवजात शिशुको परेको जनाएको छ । त्यस्तै ३ जनालाई कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरिएको छ भने ३ जनालाई छुवाछुतमा दुर्व्यवहार गरिएको प्रतिवेदनमा उल्लेख छ ।यसैगरी अपहेलनाका ८, गैरकानुनी हिरासतका ५ हिरासत यातानाका २ वटा घटना भएका छन् । यसैगरी ३ वटा तोडफोडका घटना भएका छन् भने ६ वटा घटना दुर्व्यवहारका छन् । त्यस्तै ५१ वटा घटना कुटपिटका भएका छन् । परिवारमा पति/पत्नी, सासु/बुहारी, जेठाजु/बुहारीबीच भएका झैझडामा महिला कुटपिट, घर निकाला, खान लाउन नदिनेलगायतका समस्या भोग्नु परेको इन्सेकको अभिलेखले देखाएको छ ।
यो वर्ष ११ पटक बन्द/हड्ताल भएका छन् ।  वर्षभरी भएका  १ सय ५१ घटनामा १ सय ७० जना मानिस पीडित भएको पाइएको छ । जसमा २९ पुरुष, १ सय ४१ महिला पीडित भएका छन् । तीमध्ये ४४ बालिका र ९७ जना महिला पीडित भएको पाइएको छ । यो वर्ष सबैभन्दा धेरै १ सय ४१ घटना गैरराज्य पक्षबाट भए भने १० वटा घटना राज्यपक्षबाट भएका छन् ।
दाङमा विगतका वर्षभन्दा बलात्कारका घटनामा कमी आउन सकेन । यो वर्ष झन बालिका बलात्कारको घटना बढेको इन्सेक प्रतिवेदनले देखाएको छ । यो वर्ष कुल ५१ बलात्कारका घटनामा बालिका बलात्कार तथा यौन दुर्व्यवहारका ४२ घटना भएका छन् । जसमा ३० वटा घटना बलात्कार र १२ वटा घटनामा बलात्कार प्रयास भएका छन् । जसमा ४४ बालिका पीडित भएका छन् । यसैगरी ९ वटा बलात्कार घटनामा १० महिला पीडित भएका छन् । बालिका बलात्कारका ४२ घटनामा ३ देखि १० वर्षसम्मका १२ जना, ११ देखि १४ वर्षसम्मका १७ जना र १५ देखि १८ वर्ष उमेर समुहका १३ जना बालिका पीडित भएका छन् । जसमा हाडनाताकरणिका ८ वटा घटना भएको इन्सेक अभिलेखले देखाएको छ ।
इन्सेकका अनुसार बुवा, हजुरवुवा, सहोदर दाजु, मामा, भिनाजु र झट्केलो बुवाबाट बालिका बलात्कृत भएको पाइएको छ । केही घटनामा परिवारिक संलग्नता भएपनि धेरैजसो बलात्कारका घटनामा छिमेकी, साथीहरु तथा चिनेजानेकैबाटै महिला तथा बालिकाहरु बलात्कृत भएको पाइएको छ । यो वर्ष ३, ४, ५, ६ वर्षका बालिका बलात्कारमा परे भने बलात्कारका घटनामा ५१, ५५ र ६९ वर्षसम्मका वृद्ध संलग्न भएको इन्सेकले जनाएको छ ।  यो वर्ष सवैभन्दा धेरै १४ वर्षका बालिका ११ जना बलात्कृत भएका छन । त्यस्तै ३ जनाले श्रीमतिको हत्या गरे भने बुहारीले सासुको हत्या गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माको अध्यक्षता तथा दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस हेमन्त रावलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरोकारवालाहरुले नेपाल मानवअधिकार वर्ष पुस्तकलाई थप विश्वसनीय बनाउन सत्यतथ्य सूचना संकलनमा जोड दिनुपर्ने बताए । मानवअधिकार अवस्थाको ऐनाको रुपमा वर्षपुस्तक रहेको भन्दै यसकै आधारमा सरकारले योजना बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला न्यायाधिस हेमन्त रावलले वर्षपुस्तकको महत्व अन्तर्राष्ट्रियस्तरमा पनि उत्तिकै रहेको भन्दै अपराधजन्य गतिविधि भन्दा मानवअधिकारका विषयलाई कढि प्राथमिकता दिन सुझाव दिनुभयो । कानुनको पालना नगरिएका कतिपय घटना मानवअधिकार उल्लघन जस्तो देखिए पनि ति अपराधजन्य घटना भन्दै न्यायाधिस रावलले वर्षपुस्तकलाई थप प्रभावकारी बनाउन परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले वर्षपुस्तक मानवअधिकारको आधिकारीक दस्तावेज भन्दै इन्सेकले वाचडगको काम गरेको बताउनुभयो ।
सो अवसरमा नेकपाका नेता मनोहर बुढाथोकी, राजमोका उपाध्यक्ष महेश रिजाल, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख रञ्जन अवा, जिल्ला कारागार शाखा प्रमुख पर्शाराम भुसाल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, मानवअधिकार सञ्जाल दाङका सदस्य श्रीमन न्यौपाने, कान्तिपुर टेलिभिजनका सुदर्शन रिजालले वर्षपुस्तकका लागि संकलित घटनालाई सत्यतथ्य बनाउन सहयोग गर्ने बताउनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस