घोराही, १९ पुस । नागरिक समाज दाङले स्वास्थ्य सेवा शुल्क तत्काल फिर्ता लिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आग्रह गरेको छ । विहीवार प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउदै पुस १७ गतेदेखि लागु गरिएको स्वास्थ्य सेवा शुल्क वृद्धिको निर्णय सच्याउन माग गरिएको हो । नागरि समाजका संयोजक चन्द्रराज पन्तले उपकुलपति भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो ।

पोषण पुनस्थापना गृहलाई प्रतिष्ठानका डाक्टर कर्मचारीको आवासको रुपमा उपयोग गर्नु, सरकारले निःशुल्क प्रवाह गर्दै आएका प्रसुतिलगायतका स्वास्थ्य सेवाहरुमा चार गुणासम्म शुल्क बढाउनु, अस्पतालका अरु सेवाहरुमा पनि शुल्क बृद्धि हुनु सर्वथा अनुचित रहेको नागरिक समाजको ठहर छ, ध्यानाकर्षण पत्रमा भनिएको छ,– नागरिकको स्वास्थ्यसँग जोडिएका मौलिक हकको समेत उल्लघंन हुनेगरी गरिएका सबै निर्णय सच्याउन हामी आग्रह गर्दछौ । साथै शुल्क वृद्धिले नागरिकको गुनासो बढेको भन्दै बुधवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर स्वास्थ्य सेवालगायतका विभिन्न विषयमा अनुगमन गरिएको र नागरिक गुनासोको उचित सम्वोधनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ध्यानाकर्षण गराइएको नागरिक समाज दाङकी सचिव लक्ष्मी आचार्यले बताउनुभयो ।

साथै अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी), सामाजिक सुरक्षा ईकाई, पोषण पुनस्र्थापना गृह, डट्सलगायतका सेवाहरु प्रभावित हुन्छन् कि भन्ने नागरिकका आंशका मेटाउँदै ती सेवाहरु निर्वाध रुपमा निरन्तर सञ्चालन गरिनुपर्ने आवश्यकता रहेको जोड दिन चाहन्छौं । स्वास्थ्य सेवा र शुल्क बृद्धिको यो विषयलाई गंभीरतापूर्वक लिई यो निर्णय सच्याउन र जनताले निःशुल्क रुपमा प्राप्त गर्दै आएको स्वास्थ्य सेवा सुचारु गर्न र स्वास्थ्य सेवालाई गुणात्मक बनाउन विशेष ध्यान दिन समेत विनम्र अनुरोध गर्दछौं–ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

निर्णय फिर्ता लेउः महासंघ
यसैवीच नेपाल पत्रकार महासंघ दाङले नागरिक सेवा प्रभावित हुने गरी गरिएको शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । महासंघका अध्यक्ष सविन प्रियासन र सचिव भुपेन्द्र ओलीले विहीवार विज्ञप्ति जारी गरी सरकारले न्यनतम स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्थापित गरेको तर मौलिक हक र स्वयं प्रतिष्ठानकै ऐन विपरित शुल्क वृद्धि गरिएको भन्दै तत्काल शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गर्नुभएको छ । विज्ञप्तिमा साविक राप्ती उपक्षेत्रीय अस्पताल हुदा प्रवाह भइरहेका सेवा तथा कार्यक्रमहरु, आमा सुरक्षा कार्यक्रम,ओसिएमसी, डट्स, पोषण गृहलाई निर्वाध सञ्चालनका लागि आग्रह गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस