घोराही, १९ माघ । दाङ जिल्लाका विभिन्न विद्यालयमा पूर्व प्राथमिक तहमा अध्ययन गरिरहेका बालवालिकाहरुको सहभागितामा किड्स ओलम्पियाड सकिएको छ । शनिबार आयोजना गरिएको किड्स ओलम्पियाडमा दाङ जिल्लाका २३ वटा विद्यालयका बालवालिकाहरुले सहभागिता जनाएका थिए ।

गत वर्ष जिल्लामै पहिलो पटक आयोजना गरिएको किड्स ओलम्पियाडको दोस्रो संस्करणका रुपमा यस वर्ष पनि यस खालको कार्यक्रम आयोजना गरिएको किड्स ओलम्पियाड संचालन संस्था स्कुल अफ् ट्रेनिङ प्रालिका अध्यक्ष प्रतिक्षा गौतमले जानकारी दिनुभयो ।

अघिल्लो बर्ष आठ वटा विद्यालयका बालवालिकाहरुको सहभागिता रहेकोमा यस बर्ष २३ वटा विद्यालयका बालवालिकाहरुले सहभागिता जनाएका थिए । कार्यक्रमको उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गर्नुभएको थियो । उहाँले बालवालिकाको चौतर्फी विकासका लागि यस्ता कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । बालवालिकाको क्षमता विकासका लागि आयोजना गरिने यस्ता कार्यक्रमका लागि उपमहानगरपालिकाको सहयोग रहने धारणा पनि उहाँको थियो ।

कार्यक्रमलाई किवानिज नेपालले प्राविधिक सहयोग गरेको थियो । विभिन्न विद्यालयमा कक्षा नर्सरीदेखि युकेजीसम्मका बालवालिकाको सहभागिता थियो । बालवालिकाको सहभागिता रहेको कार्यक्रममा प्रतियोगिता भने राखिएको थिएन । बालवालिकालाई जसरी भए पनि जित्नै पर्छभन्दा पनि सहभागिता बृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको किवानिज नेपालका गभर्नर सुजनकुमार श्रेष्ठले बताउनुभयो । बालवालिकाको मनोविज्ञानलाई बुझेर खेलकुदका माध्यमबाट क्षमता विकास गराउने उद्देश्यले यस्ता कार्यक्रम देशव्यापी रुपमा आयोजना गरिएको पनि श्रेष्ठले बताउनुभयो ।

स्कुल अफ् ट्रेनिङका अध्यक्ष प्रतिक्षा गौतमकाअनुसार दाङका विभिन्न क्षेत्रका २३ विद्यालयका आठ सय ३० जना विद्यार्थीहरुको किड्स ओलम्पियाडमा सहभागिता थियो । हरेक बालवालिकाका अभिभावकहरुको पनि त्यस अवसरमा सहभागिता थियो । अभिभावकले आफ्ना बालवालिकाको प्रतिभालाई नियालेका थिए । कार्यक्रममा बोल्नेहरुले यस्ता कार्यक्रमले बालवालिकाको क्षमता र प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने धारणा राखेका थिए ।

उक्त अवसरमा प्रतिक्षा गौतमले प्रकाशन गर्नुभएका विभिन्न आठ वटा पुस्तक विमोचन गरिएको थियो । नगरप्रमुख चौधरीले ति पुस्तकको विमोचन गर्नुभएको थियो । पुस्तकमा बालवालिकालाई शव्द र चित्रका माध्यमबाट सिकाउने विभिन्न सामग्रीहरु राखिएका छन् । कार्यक्रममा सहभागि सवै बालवालिकालाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । सोही अवसरमा अभिभावकहरु, शिक्षकहरुका लागि बेग्ला बेग्लै प्रतियोगिता आयोजना गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस