दाङ, २६ माघ । सांसद अमरबहादुर डाँगीले बालबालिकालाई व्यवहारिक शिक्षा दिन आवश्यक रहेको बताउनुभएको छ । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीको ११औं वार्षिकोत्सव तथा शैक्षिक प्रदर्शनीलाई शनिवार सम्बोधन गर्दै प्रदेश सांसद डाँगीले शिक्षालाई अव दैनिक जीवनसँग जोड्नुपर्ने धारणा राख्नुभएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले ज्ञानमालाले क्रियाकलापमा आधारित शिक्षण सिकाई सञ्चालन गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो । समय सुहाउँदो शिक्षण सिकाई आवश्यक रहेको भन्दै उहाँले बालबालिकालाई पैंसा नलाग्ने माया, ममता, हेरचाह र उचित वातावरण दिनुपर्ने बताउनुभयो । बालबालिकालाई पैंसा दिने बानी बसाल्नुभन्दा पैंसा लगानी विना नै सिकाउन सकिने कुरामा अभिभावकले ध्यान दिनुपर्ने उहाँले धारणा राख्नुभयो ।यसैगरी विशिष्ट अतिथि प्याब्सन दाङका सचिव खगेश्वर पौडेलले अभिभावक, विद्यालय र विद्यार्थीको त्रिकोणात्मक समन्वयबाट मात्रै गुणस्तरीय शिक्षा सम्भव हुने विचार व्यक्त गर्नुभयो । उक्त अवसरमा विद्यालयका प्रिन्सिपल केशवराज गिरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले व्यावहारिक शिक्षण विधिमार्फत अहिलेको बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा पद्मोदय पब्लिक माविका सहायक प्राचार्य लोकबहादुर बस्नेत, थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरी, आरआरएन्का पूर्व क्षेत्रीय प्रमुख विकास चौधरी, विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष बामदेव पोख्रेल र क्रियाकलापमा आधारित शिक्षण सिकाईका निर्देशक ढुण्डिराज गिरीले मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यार्थीहरु नारायणसिंह पुन र सलिमा चौधरीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संयोजक विमला केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल महेश बस्नेतले गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयलाई महत्वपूर्ण योगदान गर्ने विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामहरी शर्मा पौडेल र बसचालक रणबहादुर बाँठालाई सम्मान गरिएको थियो । यसैगरी विद्यालयका समाचार सम्प्रेषणमा महत्वपूर्ण योगदान गरेको भन्दै सञ्चार अनलाइनका सम्पादक किरण गौतमलाई सम्मान गरिएको थियो । यसैगरी यसवर्षको एसइईमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल किशु खड्का, अभिभावक र विभिन्न क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले तयार पारेका विभिन्न शैक्षिक सामग्रीहरुको प्रदर्शनी गरिएको थियो । अभिभावक र अतिथिहरुले प्रदर्शनीको अवलोकन गरेका थिए । कार्यक्रममा बालबालिकाले विभिन्न साँस्कृतिक प्रस्तुतिहरु पनि गरेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस