लमही, २८ माघ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङको भवन शिलान्यास गरिएको छ । लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले भवनको शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै मेयर केसीले सबै साहित्यकार एवं साहित्यानुरागीहरुको सकृयता भएमा नगरपालिकाको तर्फबाट पनि सक्दो सहयोग रहने र आगामी वर्ष मञ्चको वार्षिकोत्सव कार्यक्रम नयाँ बन्ने सभाहलमा गर्न सकिने विश्वास दिलाउनुभयो ।

लमही नगर विकास समितिले प्रदान गरेको १५ कठ्ठा जग्गामा सो भवन निर्माण गरिने भएको र सो को लागि देउखुरीमा रहेका स्थानीय तह, उद्योगपति, संघसंस्था, ब्यवसायी, साहित्यकार एवं शुभचिन्तक सबैमा अनुरोध गरिएको मञ्चका अध्यक्ष हरि पोख्रेलले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा साहित्यकार जागेश्वर शर्मा, नागरिक समाजका अगुवा नीमबहादुर थापा, नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ दाङका अध्यक्ष दीपक भुसाल र गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्यलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय लमहीले पाँच हजार एक सय पाँच, संस्थाका कोषाध्यक्ष निर्मला कार्कीले पाँच हजार पाँच, साहित्यकार गंगानाथ कोइरालाले तीन हजार र प्रमोद पौडेलले चार हजार पाँच रुपैया सहयोग गर्नुभएको थियो । संस्थाका महासचिव नीमबहादुर थापाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव शिवराज पन्थीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस