घोराही, ४ फागुन । अभिभावकहरुलाई बालबालिकाको शिक्षा र संरक्षणमा ध्यान दिन अभिमुखिकरण गरिएको छ । भ्यालिटप स्कुल घोराहीको आयोजनामा शनिवार भएको एकदिने अभिमुखिकरणमा अभिभावकहरुलाई आफ्ना सन्तानको शिक्षा र संरक्षणमा ध्यान दिन सुझाव दिइएको हो ।होटेल टि थ्रीमा आयोजना गरिएको कार्यक्रममा झण्डै पाँच सय अभिभावकहरुको सहभागिता थियो । सो अवसरमा प्रशिक्षक देशराज दाहालले सहजीकरण गर्नुभएको थियो । उहाँले विद्यालयमा ६ घण्टा बालवालिका हुने तर अभिभावकसंग बाँकी १८ घण्टा रहने भन्दै सन्तानका लागि त्यो समय सदुपयोग गर्न आग्रह गर्नुभएको थियो । ‘आफ्नो बच्चा राम्रै होस् भन्ने चाहना राख्ने तर विद्यालय जान्छ जाँदैन त्यसबारे बेखवर हुने हो भने तपाई‌ंको बच्चा राम्रो बन्दैन’ प्रशिक्षक दाहालले भन्नुभयो,– ‘राम्रो बच्चा होस भन्ने चाहनालाई मूर्तरुप दिनेहो भने उसका लागि लगानी जरुरी हुन्छ ।’ उहाँले बच्चाको आनीवानी, उसको इच्छाअनुसारको पढ्ने, खेल्ने वातावरण र आवस्यक निरिक्षणका लागि अभिभावक चनाखो हुनुपर्नेमा जोड दिनुभयो । धेरैजसो अभिभावकहरुले पढोस भनेर स्कुलमा भर्ना गरिदिएकै छौ भनेर वास्ता नगरेको पाइएको भन्दै अभिभावकले नै पढे पढोस् नपढे नपढोस् भन्ने हो भने बच्चाले राम्रो गर्न नसक्ने बताउनुभयो ।सो अवसरमा अभिभावकहरुले आफ्नो सन्तानले राम्रो पढोस् भन्ने चाहना भए पनि आवस्यक समय उपलव्ध गराउन नसक्नु कमजोरी भएको भन्दै यसलाई सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रम विद्यालयका प्रिन्सिपल लालमणि बसेलको अध्यक्षतामा भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस