घोराही, ५ फागुन । संघीय संसद अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिका सभापती जयपुरी घर्तीले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपचार सेवालाई तत्काल प्रभावकारी बढाउन निर्देशन दिनुभएको छ ।

आईतबार प्रतिष्ठान देखिएको कर्मचारी बिबादको छानविन गर्न आउनुभएका समिति सभापती घर्तीले जनताको उपचार सेवालाई प्राथमिकता दिएर अघि बढ्न निर्देशन दिनुभयो । प्रतिष्ठानमा अस्पताल हस्तान्तरण भएपछि कर्मचारीहरुलाई राख्दैन भन्न नपाउने भन्दै सबै कर्मचारीहरुलाई उचित व्यवस्थापन गरेर उपचार सेवालाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

प्रतिष्ठानका पदाधिकारी, कर्मचारी, सरोकारवाला निकायका पदाधिकारीहरु सँग छलफल गर्दै सभापती घर्तीले उपचार सेवाबाट नागरिकहरु बन्चित हुनु, अस्पताल बाहिर बाटै रिफर हुनु, अस्पताल प्रति बिश्वास गुम्नु र कर्मचारीहरुलाई उचित व्यवस्थापन गर्न नसक्नु प्रतिष्ठानका पदाधिकारीमा व्यवस्थापकिय कमजोरी देखिएको उल्लेख गर्नुभयो ।

नागरिकहरुको उपचारमा विश्वास गुम्दै जानु तथा कर्मचारीहरु आन्दोलन मै रहनुले कसैको पनि हित नहुने भन्दै तत्काल उपचार सेवालाई प्रभावकारी बनाउन र कुनै पनि कर्मचारीलाई काम बिहिनताको सृजना नगराउन निर्देशन दिनुभयो । साथै उहाँले पोषण पुनस्थापना गृह, आमा सुरक्षा कार्यक्रम सहित यस अघि सञ्चालनमा रहेका सबै कार्यक्रमहरुलाई सुचारु गराउन पनि निर्देशन दिनुभयो ।

प्रतिष्ठानमा देखिएको समस्या समाधानका लागि गठन भएको संसदीय उपसमितिका संयोजक पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रतिष्ठानले सबैको मन जितेर जनताको उपचार र आबस्यक प्रकृयालाई पूर्णता दिन तर्फ लाग्न निर्देशन दिनुभयो । पदाधिकारी, स्वास्थ्यकर्मी र कर्मचारीहरु मिलेरै गुणस्तरीय सेवा दिन सकिने भन्दै उहाँले आबस्यक ऐन संशोधन गरेर सहजिकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा साविक उपक्षेत्रिय अस्पताल विकास समितिबाट आएका र सरकारी करारका कर्मचारीहरुले आफुहरुलाई प्रतिष्ठानले बिभेद गरेको गुनासो राखेका थिए । सभापती जयपुरी घर्ती सहित अध्ययन उपसमिति संयोजक खगराज अधिकारी, सदस्यहरु अन्जना विशंखे, गजेन्द्रबहादुर महत, एकवाल मियाँ, नमिताकुमारी चौधरी र समिति सचिब जीवराज बुढाथोकीको टोली अस्पतालको निरिक्षण समेत गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस