घोराही, ९ फागुन । व्यवस्थित बजारका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ले काम शुरु गरेको छ । फोहर फाल्ने थलो बनेका वडाका भित्री नालालाई सडकको रुपमा विकास गर्न लागिएको वडा सदस्य सुरेश श्रेष्ठले जानकारी दिनुभयो । वडा सदस्य श्रेष्ठका अनुसार झण्डै २ सय ४५ सेन्टिमिटर लम्वाइ र २ मिटर चौडा ६ वटा नालालाई तुलसीपुरका भित्री सडकको रुपमा विकास गर्न लागिएको हो । सडक निर्माणसँगै ती सडकमा भाँडा, फेन्सी कपडा, जुत्ता चप्पल जस्ता भिन्दाभिन्दै ६ किसिमका व्यावसायिक थलोका रुपमा विकास गर्ने लक्ष्य लिएको श्रेष्ठले बताउनुभयो ।

बजारको रेखांकन गर्दा नै फोहर व्यवस्थापनका लागि छुट्याएका ती नालाहरु जनसंख्या बृद्धिसँगै फोहर फ्याँक्ने ठाउँ र दुब्र्यसनलगायत आपराधिक समूहले प्रयोग गर्ने स्थान भइरहेको थियो । अब सडक निर्माणपछि बजारको चहलपहल हुने र व्यावसायिक केन्द्रको रुपमा विकास हुने अपेक्षा टोलवासीहरुको छ । नालाका लागि छुट्याएको उक्त गल्लीलाई सडकको रुपमा विकास गर्ने र दुवैतर्फका घरको पछाडिपट्टी सटर निकाल्ने लक्ष्यका साथ निर्माण कार्य तीव्र पारिएको तुलसीपुर उपहानरपालिका वडा नम्वर ५ स्थित आर्दश टोलविकास संस्थाका नरेश डाँगीले जानकारी दिनुभयो । (क) र (ख) टोलको बीचको उक्त गल्लीलाई २ मिटरको सडक गराउने कार्यलाई तीव्रता दिइएको छ । मापदण्डलाई च्यापी बनाएका भौतिक संरचनालाई भत्काउन सुरु गरिएको निर्माण समितिका संयोजक दीपेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ को १० लाख रुपैयाँ र टोलवासीको सहभागितामा २ लाख ५२ हजार गरी १२ लाख ५२ हजार रुपैयाँको लागतमा निर्माण कार्य भइरहेको छ ।

गत हप्तादेखि शुरु गरिएको निर्माण कार्य २०७६ साल बैशाख २० गते सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । यसअघि तुलसीपुर ५ को (क) र (ग) टोलको बीचमा रहेको नालालाई पनि सडकको रुपमा विकास गर्ने कार्य भइरहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस