दाङ, २२ फागुन । टीकापुर घटनाको फैसला गर्दै जिल्ला अदालत कैलालीले बुधबार ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

बुधबार सांसद रेशम चौधरीसहित ११ जनालाई जन्म कैदको फैसला सुनाएको हो। ९ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर गर्दै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृज मोहन डगौरा, राजेश चौधरी, वीरबहानुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनेर चिनिएका सिताराम चौधरी, श्रवण चौधरी, गंगाराम डगौरा चौधरी र रेशमलाल चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

दोषी ठहर भएका श्रवण चौधरी नाबालक भएकाले निजलाई बालबालिका सम्बन्धि ऐन २०४८ को दफा ११ (३) बमोजिम १० वर्ष जेल सजाय मात्र हुने अदालतले फैसला गरेको छ ।

१२ जनालाई तीन वर्षको कैद सजाय, ४ जना निर्दोष ठहर
यसैगरी अन्य प्रतिवादीहरु लक्ष्मण थारु (चौधरी), लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भन्ने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किशनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्नी राम चौधरी र रमप्रसाद चौधरी रहेका छन् । सोही घटनाका दोषी जनालाई भने ३ वर्षको कैद सजाय हुने अदालतले फैसला गरेको छ ।

पुर्पक्षमा रहेका बाँकी ४ जनालाई भने अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको छ । जसमा नुरुल अलि, तहाँवर अलि जागा, विसराम चौधरी र रामनरेश चौधरी रहेका छन् ।

थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा नेपाल प्रहरीका तत्कालिन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । घटनाका अभियुक्त रेशम चौधरी फरार अवस्थामै कैलाली क्षेत्र नम्बर १ बाट गत वर्ष मंसिरमा भएको प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस