घोराही, २७ फागुन । घोराही उपमहानगरपालिकाले घोराही बजार क्षेत्रमा ठेला गुडाउनमा रोक लगाएको छ । उपमहागरको बजार व्यवस्थापन उपसमितिले ठेला व्यवसाय गर्नका लागि निश्चित ठाउँहरु दिँदै गुडाउनमा रोक लगाएको हो । नगर प्रमुखको संयोजकत्वमा रहेको बजार व्यवस्थापन समितिले प्रभावकारी कार्य सञ्चालन गर्न वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा उपसमिति गठन गरेर बजार व्यवस्थापनका काम थालेको हो ।

उपसमितिले सोमबार नगरका ठेला व्यवसायीहरुलाई भेला गराई व्यवसाय सञ्चालन गर्न निश्चित ठाउँहरु तोक्दै बजारमा ठेला गुडाउन नपाउने विषयमा जानकारी गराएको हो । उपमहानगरले बजार व्यवस्थापन सँगै ठेला व्यवसायलाई सुरक्षित बनाउदै आवागमनमा सहजता र दुर्घटनाको जोखिम हटाउन यस्तो निर्णयमा पुगेको जनाएको छ ।

उपसमितिले घोराहीको पुरानो बसपार्क स्थिती सभागृह निर्माण स्थलको बाहिर, बालमन्दिर र ट्राफिक चोकको पिपल बोटमा ठेला व्यवसाय सञ्चालनका लागि स्थान निर्धारण गरेको छ । उपसमितिका संयोजक शक्तिराम डाँगीले ठेला व्यवसायलाई सुरक्षित बनाउनका लागि गुडाउन रोक लगाउदै निश्चित ठाउँको व्यवस्था गरिएको र एक व्यक्तिले एउटा ठेलामा मात्रै व्यवसाय गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

अटेर गरी सडकमा ठेला गुडाएको पाईएमा बजार व्यवस्थापन कार्यबिधीमा भएको नियम अनुसार ५ सुय देखी १० हजार रुपैयाँ सम्म जरिवाना हुने छ । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिब माया पोख्रेलले ठेला व्यवसायीहरुलाई सरकार र संघको नियमनमा आउन आग्रह गर्नुभयो । त्यसैगरी ठेला व्यवसायी समितिका अध्यक्ष अजित मन्सुरीले स्थानिय सरकारको नियमलाई आफुहरुले पालना गरि बजार व्यवस्थापनमा सघाउने प्रतिबद्धता जनाउनुभयो । घोराही बजार क्षेत्रमा करिब १ सय ठेला व्यवसायी रहेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस