घोराही, ३० फागुन । घोराही उपमहानगरपालिकाले नगर पाश्र्वचित्र तयार गरेको छ । करिव एक बर्ष लगाएर तयार गरिएको पाश्र्वचित्र शुक्रबार सार्वजनिक गरिएको थियो । घोराही उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यलयले आयोजना गरेको कार्यक्रममा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले नगर पाश्र्वचित्रको विमोचन गर्नुभएको थियो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले नगर पाश्र्वचित्र तयार गरिसकेपछि यसैलाई आधार बनाएर रणनीतिक योजना बनाउन सुझाव दिनुभयो । उहाँले घोराही उपमहानगरपालिकाले प्रदेश नंं ५ का अन्य स्थानीय पालिकाभन्दा राम्रो काम गरिरहेको भन्दै अव रणनैतिक योजनाका साथमा अघि बढ्न सुझाव दिनुभएको थियो । उहाँले भन्नुभयो–‘ अव आवधिक योजना बनाएर अघि बढ्नुपर्छ ।’
विकासका लागि स्थानीय जनताको साथ र सहयोग आवश्यक रहेको भन्दै मुख्यमन्त्री पोखरेलले जनप्रतिनिधिका अघिल्तिर ठूलो अवसर आएको भन्दै यस्तो अवसरलाई सदुपयोग गरेर अघिबढ्न सुझाव दिनुभयो । ‘अवसर पटक पटक आउँदैन, एक पटक आएको अवसरलाई सदुपयोग गरेर अघि बढ्नुपर्छ ।’ मुख्यमन्त्री पोखरेलको सुझाव थियो ।

प्रदेश सरकारले ल्याएका विभिन्न योजनाहरुका बारेमा चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशले दिन्छौ भनेका योजनाहरुको बजेट माग गर्न स्थानी पालिकाले उदाशिनता देखाएको बताउनुभयो । उहाँले स्रोत परिचालनमा समस्या देखिएको भन्दै स्थानीय पालिकाहरुमा प्रदेश सरकारले विनियोजन गरेका योजनाहरुलाई कार्यान्वयन गर्नतर्फ लाग्न पनि सुझाव दिनुभयो । प्रदेश सरकारले ल्याएका विभिन्न योजना मध्य कुहिरेपानी देखि तुलसीपुरसम्मको सडक फराकिलो बनाउने योजना प्रमुख योजनाका रुपमा रहेको उहाँको भनाई थियो । यस्तै सेवार खोलामा ड्याम लगाउने योजना, पातु खोला हाइड्याम योजना र बहुलाखोला हाइड्याम योजना महत्वपूर्ण योजनाका रुपमा रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलले दाङ जिल्लामा केही योजनाहरु व्यङ्ग्य गर्ने विषय बनिरहेको भन्दै खोलामा पुल बनाउनका लागि प्रदेश सरकारले पहल गरेको उल्लेख गर्नुभयो । अहिले अन्य खोलामा पुल निर्माणको काम भइरहेको भए पनि पत्रे खोलाको काम रोकिएकाले त्यो खोलाको पुल निर्माणको काम पनि कटुवाखोलाको जस्तै हुने हो कि भन्ने आशंका गर्नुभयो । दाङ जिल्लाको विकासका लागि घोराहीदेखि रोल्पा जोड्ने शहिद मार्गलाई अघि बढाउनुपर्ने भन्दै उक्त सडक निर्माणको काममा भइरहेको ढिलाई प्रति चिन्ता व्यक्त गर्नुभयो । मुख्यमन्त्री पोखरेलले बाह्रकुने दहमा बहुउद्देश्यिय पार्क निर्माणको काममा ढिलाई भएको भन्दै काम गर्ने बेलामा चित्त ठूलो गराउन आग्रह गर्नुभयो । दाङ जिल्लामा विपी मार्ग लामो समयदेखि स्तर बृद्धि हुन नसकिरहेकाले अब त्यसको जिम्मा प्रदेश सरकारले लिने धारणा मुख्यमन्त्री पोखरेलको थियो ।

नारायणपुरमा विमानस्थलको बारेमा बोल्दै मुख्यमन्त्री पोखरेलले राष्ट्रिय स्तरका योजना बनाउदा जनतालाई दुःख दिएर नवनाइने स्पष्ट गर्नुभयो । ‘राष्ट्रियस्तरका आयोजना बनाउँदा जनतालाई दुःख दिएर बन्दैन, यो सरकारको कार्यक्रम भित्रको कुरा हो । विवाद भयो भने लाठी बोकेर केन्द्र योजना कार्यान्वयनका लागि आउँदैन । केन्न्द्रले यस्तो झमेला बोक्दैन ।’ मुख्यमन्त्री पोखरेलले भन्नुभया । उहाँले दाङ जिल्लाको भविश्यसंग जोडिएको विषयमा विवाद नगर्न पनि आग्रह गर्नुभयो ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री पोखरेलले तुलसीपुुुरमा रहेको प्रादेशिक अस्पताललाई विशेषज्ञ डाक्टर सहितको सुविधा थप्ने तर्फ सरकार लागिरहेको बताउनुभयो । प्रदेश सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चाहेर पनि केही सहयोग गर्न सक्दैन भन्दै प्रादेशिक अस्पलालाई राम्रो बनाउने तर्फ लागिरहेको बताउनुभयो । शिक्षाका बारेमा बोल्दै मुख्यमन्त्रीले प्रदेश सरकारको मातहतमा उच्च शिक्षा नपरेकाले केही गर्न नसकिएको बताउनुभयो । आधारभुत तहको शिक्षाको जिम्मेवारी स्थानीय पालिकाको हुने, मावि तहको शिक्षा प्रदेश सरकारको हुने र उच्च शिक्षा केन्द्रीय सरकारको हुने भएकाले यस बर्ष मावि तहका विद्यालयको भौतिक संरचना निर्माणमा बजेट विनियोजन गरिएको स्ष्ट गर्नुभयो । केन्द्रीय सरकारको मातहतमा रहेका क्याम्पसहरुले राम्रो शिक्षा दिन नसकेको खण्डमा प्रदेश सरकार आफैले उच्च शिक्षाका लागि विशेष व्यवस्था गर्ने सोच बनाएको पनि मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

यसैगरी स्रोत परिचालनका लागि स्थानीय पालिकाले योजना बनाउन सक्ने सुझाव दिदैं मुख्यमन्त्री पोखरेलले गाउँबाट छिटुवामा तरकारी बोकेर आउनेसंग कर अशुल गर्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो–‘गाउँबाट तरकारी लिएर आउनेलाई कर लगाउने काम गर्दै नगरौं ।’ बजार क्षेत्रमा व्यापार गर्नेहरु र घरलाई भाडामा लगाउनेहरुले कर नतिरेको तर्फ संकेत गर्दै आम्दानी गर्नेले अनिवार्य रुपमा कर तिनुपर्ने बताउनुभयो । तर गाउँमा खेती किसानी गरेर छिटुवामा तरकारी बेच्न बजार ल्याउनेलाई तर लगाउन नहुने मुख्यमन्त्री पोखरेलको धारणा थियो ।

घोराही उपमहानगरपालिकाका उप प्रमुख सिता सिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत सन्तवहादुर सुनारले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस