घोराही, ३ चैत । तुलसीपुरमा रहेको ज्ञानदीप कलेज विसिए कार्यक्रम अन्तर्गत पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले पैसा संकलन गरेर सामाजिक काममा लगाएका छन् । चामलको अभावमा भौकै रहन वाध्य राउटे समुदायलाई सहयोग गर्नका लागि उनीहरु दाङदेखि चामल वोकेर सुर्खेतको विकट गाउँसम्म पुगेका हुन् ।

विद्यार्थीहरुले लगेको चामल टेम्पोबाट झार्ने वित्तिकै राउटेहरुले आफ्नै लागि चामल ल्याएको भन्ने बुझिहाले । मध्यान्हको समयमा टेन्ट मुनि बसिरहेका उनीहरुले घेरा हाले । चामलको अभावमा धेरै दिन देखि आधा पेट खान वाध्य उनीहरुले चामल लिएर आएका विद्यार्थीहरुलाई मिठो मुस्कानसहित स्वागत पनि गरे । साना बालबालिकाहरुले आफ्नै भाषामा हात जोडिरहेका थिए । “केही नपाएर भोकै बसेका थियौ, बल्ल खान पाइने भो ” राउटे सूर्यनारायण शाहीले खुसी व्यक्त गरे । उनले दुईदिन अगाडी मात्रै वस्ती सारेकाले खानको अभाव भएको बताए । “तपाईंहरुले चामल ल्याएर हामीलाई बालबच्चा खुसी हुने भए” उनले भने ।

तुलसीपुरमा रहेको ज्ञानदीप कलेज बिसिए पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले उनीहरुलाई सहयोग बोकेर उनीहरुकै ठाउँमा गएका थिए । “राउँटेहरुले खान नपाएको समाचार थाहा पाएर सहयोग ल्याएका हौँ” विद्यार्थी साया महर्जनले बताइन् । उनले राउटेहरुको जीवनशैलीका बारेमा पनि थाहा पाउनका लागि त्यहाँ पुगेको जानकारी दिइन् । विद्यार्थीहरु लेकबेसी नगरपालिका वडा नम्वर १ जहरे सुर्खेतमा राउटेहरु बसेकै ठाउँमा पुगेर सहयोग गरेका हुन् । उनीहरुले पैसा उठाएर सामुहिक रुपमा १० क्विन्टल चामल सहयोग गरेको विद्यार्थी प्रवेश वस्नेतले बताए । “समाजप्रतिको हाम्रो दायित्व पूरा गर्नका लागि हामीले सहयोग गरेका छौ” बस्नेतले भने । खान नपाएकाहरुलाई केही भए पनि राहत दिन पाउँदा हर्षको महसुस भएको वन्दना वलीले बताइन् ।

समाजशास्त्र विषयअन्तर्गत कलेजले विद्यार्थीहरुलाई हरेक सेमेस्टरमा सामाजिक कामहरुमा अग्रसर गराउने कलेजका मानविकी संकाय संयोजक शरद गौतमले बताए । किताबका कुरा मात्रै भन्दा पनि विद्यार्थीहरुलाई फिल्डमै गएर अध्ययन गराउनका लागि कलेजले नियमित रुपमा कार्यक्रमहरु सञ्चालन गरिरहेको समेत बताए । “विद्यार्थीैहरुले किताबमा पढेर मात्रै समाजका बारेमा बुझ्न सक्दैनन् त्यसका लागि ठाउँमै पनि पुग्नुपर्दछ” गौतमले भने ।

राउटे वस्तिमा पुगेर विद्यार्थीहरुले सामाजिक सचेतना कार्यक्रम समेत गरेका थिए । उनीहरुले कसरी सफा रहने र शिक्षाको महत्व के छ भन्ने बारेमा जानकारी समेत दिएका थिए । शिक्षक वसन्त आचार्यले राउटेको सांस्कृतिक पक्षका बारेमा चर्चा गरेका थिए । “राउटे फरक संस्कृति बोकेको समुदाय हो यसलाई आवश्यक सुधार गरेर जोगाइ राख्नुपर्दछ” आचार्यले भने । राउटेहरुले विद्यार्थीहरुलाई सहयोगप्रति धन्यवाद दिएका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस