निमुसंगम घर्ती

घोराही, ४ चैत्र । ठीक १० बजेसम्म गेट खुल्छ । त्यसपछि गेट बन्द हुन्छ । गेट बाहिरबाट ट्वाक ट्वाकको आवाज आउँछ । विद्यालयका प्रधानाध्यापक गेट खोलेर बाहिर हेर्छन् । सरकारी पोशाक लगाएका व्यक्तिहरु अब ढिला हुँदैन सर भन्दै भित्र प्रबेश गर्न खोज्छन् तर प्रअले ती सरकारी पोशाक लगाउनेहरुलाई नमस्कार घर फर्कनुस् भनेर बिदाई गर्छन् र गेट बन्द गर्छन् । यस्तै दृश्य केही दिनसम्म दैनिक हुने गर्‍यो घोराही उपमहानगरपालिका १४ नयाँ बजारमा रहेको शुभप्रभात माविमा ।

शिक्षक विद्यार्थीमा अनुशासन नहुँदा विद्यालय कति बेला जाने भन्ने नै भुलेको पाइएपछि १० बजे ‘गेट लक, नमस्कार बिदाई गरे’ भन्ने अभियान थालियो । एक वर्ष पहिले प्रधानाध्यापकको जिम्मेवारी लिएर विद्यालयलाई राम्रो बनाउने सोच थालेका प्रअ रुद्र बुढाले विद्यालयमा नयाँ प्रयोग थाल्नुभएको छ । १० बजे विद्यालयमा शिक्षक नपुग्ने र प्राथना गर्दा विद्यार्थीलाई लाइन लगाउने समेत शिक्षक नभएपछि १० बजे गेट लक थाल्नुभयो । विद्यालय व्यवस्थापन समितिको निर्णयबाटै १० बजेपछि आउने शिक्षक विद्यार्थीलाई ढिलो आउनुभयो तपाईंले जिम्मेवारी पूरा गर्न सक्नुभएन घर फर्कनुस् भन्दै नमस्कार गर्ने र गेट लगाउने अभियानको सुरुवात गरेको प्रअ बुढाको भनाइ छ । कोही शिक्षक छिटो आउने कोही शिक्षक ढिलो आउँदा मनपरी चल्न थाल्यो र रिजल्ट हेर्दा पनि लाजलाग्ने अबस्था आउन थाल्यो उहाँले भन्नुभयो,— बिद्यार्थी सँगै शिक्षकलाई सुधार्न ढिलो आउने शिक्षक र विद्यार्थीलाई घर फर्काउने अभियान थालेका हौँ ।

विद्यालय व्यवस्थापन समितिको निर्णय र शिक्षकहरुकै सहमतिमा सुधारको प्रयास थाल्यौ र कार्यान्वयनमा ल्याउदा पहिलो दिन ४ जना शिक्षक र २५ प्रतिशत विद्यार्थीलाई गेटबाट भित्र जान दिइएन । दोस्रो दिन २ जना शिक्षकमा १० जना विद्यार्थी कार्वाहीमा परे र विद्यालयमा प्रबेश पाएनन् अहिले ढिलो आउने परम्परा शून्य छ प्रअ बुढाको भनाइ छ । आफू हिजोआज बिहान ६ बजे विद्यालयमा प्रवेश गर्ने र राती १० बजे निस्कने गरेको बताउनुहुन्छ । होस्टेलमा राखेर विद्यार्थी पढाउने काममा पनि आफुहरु केन्द्रित भएर सिकाइ प्रभावकारी बनाउने अभियान रहेको उहाँको भनाइ छ । अन्य दिनमा आफू विहान ९ बजे विद्यालयमा पुग्ने र एक घण्टा विद्यालय परिसरमा आबस्यक सुधारका कामहरु गर्ने, पानी, फुलहरु, कोठा, बेन्च र सरसफाईको अबस्था बुझ्ने गरेको उहाँले बताउनुभयो ।

निजी विद्यालयहरु अब्बल र सरकारी विद्यालयहरु कमजोर भए भनेर चर्चा हुँदा आफूहरु सुधारमा लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत दर्लामीको भनाइ छ । सरकारी विद्यालयले गुणस्तरीय शिक्षा दिन सक्छन् र अब्बल शिक्षण सिकाई बनाउन सक्छन भन्ने देखाउन नयाँ नियम लगाएको उहाँले बताउनुभयो । अहिले शिक्षक र विद्यार्थी दुवै नियमितरुपमा समयमै आउन थालेपछि शिक्षाको स्तर सुधार भएको विद्यालयको दाबी छ । विद्यालयले लागु गरेको नियमलाई अभिभावकले पनि सकारात्मकरुपमा लिएका छन् । शुभप्रभात माविमा शिशु कक्षादेखि १० कक्षा सम्म ४ सय विद्यार्थी छ भने १८ जना शिक्षक रहेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस