घोराही, ५ चैत । दाङ देउखुरी जिल्ला अदालतले भिडियो कलमार्फत प्रहरी कार्यालयमा रहेका अभियुक्तहरुसँग बयान लिन थालेको छ । अदालतले मंगलबार एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका एक जना जबरजस्तीकरणी मुद्धाका अभियुक्तसँग भिडियो कलमार्फत बयान लिएर म्याद थप गरेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलले जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत राजन गौतम र जबरजस्तीकरणी मुद्धाका अभियुक्तसँग श्रव्यदृष्य भिडियोमार्फत सोधपुछ गरी प्रहरीलाई अनुसन्धान गर्न ४ दिनको म्याद थप गर्नुभयो । अब म्याद थपका लागि अभियुक्तलाई प्रहरी कार्यालयमा ल्याउनु नपर्ने र अदालतले अन्य जिल्लाका अदालतहरुसँगको आन्तरिक सोधपुछ पनि भिडियो कलमार्फत नै गर्ने न्यायाधीश रावलले जानकारी दिनुभयो ।अब यस्तो व्यवस्थाले समय, इन्धन, जनशक्तिको बचतसँगै सुरक्षा व्यवस्थामा समेत मद्धत पुग्नेछ । कार्यक्रममा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले सेवालाई प्रविधिमैत्री बनाउँदै छिटोछरितो बनाउँदा सबैलाई फाइदा पुग्ने बताउनुभयो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बेलबहादुर पाण्डेले जिल्लाका जिल्ला प्रहरी कार्यालय घोराही, इलाका प्रहरी कार्यालय तुलसीपुर, गढवा र वडा प्रहरी कार्यालय लमही गरी ४ स्थानबाट अदालतमा भिडियो कलमार्फत बयान र म्याद थप गर्न सकिने गरी प्रबिधि जोडिएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख डिआईजी पिताम्बर अधिकारी, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, बार एशोसियशनका अध्यक्ष प्रदीप गौतम र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले फौजदारी न्याय प्रशासनमा प्रबिधिमय बनाउनु अपरिहार्य भएको बताउनुभयो । समाजको शैलीसँग सेवा प्रवाहलाई प्रविधिमा रुपान्तरण गर्न सक्नु महत्वपूर्ण भएको बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस