दुर्गालाल केसी

कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बित्दा पनि उनका हत्यारा पत्ता लाग्न सकेका छैनन् । सरकार र प्रहरीको प्रतिष्ठाको बिषय बनेको यो घटनाले किशोरीलाई आतंकित बनाइरहेको छ । घर, बिद्यालय, कार्यस्थल, गाउँसमाज, सडक जता पनि असुरक्षा महशुस हुने बनाइरहेको छ । देशका बिभिन्न ठाउँमा बालिका र किशोरी बलात्कार तथा यौनहिंसामा परेका खबरहरु सार्वजनिक भैरहेका छन् ।

यस्ता घटनाहरुबीच पूर्व नवलपरासीका किशोरीहरुले समाज बदल्न ठूलो संघर्ष गरेका छन् । छोरीलाई हेर्ने समाजको दृष्टिकोण बदल्न उनीहरुले बिभिन्न सामाजिक अभियानको अगुवाई गरेका छन् । देवचुली नगरपालिका बालमैत्री घोषणा भैसकेको छ । जिल्लालाई नै किशोरी सशक्तिकरणको नमूना क्षेत्र बनाउन उनीहरु रातदिन खटेका छन् । बालिका र किशोरीहरुलाई सशक्त पार्न गाउँगाउँ पस्छन्, बिभिन्न तालिम दिन्छन् अनि आफ्नो अध्ययनलाई पनि सँगसँगै अघि बढाउँछन् ।शुरुमा घर परिवारले पनि सहज मानेका थिएनन् । घरबाट कतै निस्कन थाल्योकी आमाबुवा डराउँथे । छोरी बाहिर निस्कनुहुँदैन भनेर सँधै अर्ती उपदेश दिन्थे । परिवारको यो सोच बदल्न कावासोतीकी आशा बिकलाई त्यति सहज थिएन । ११ कक्षा अध्ययनरत बिकले लामो समय आमाबुवालाई सम्झाइन्, आफ्नो कामबारे जानकारी दिइन् । छोरीको काम देखेपछि परिवार पनि बिश्वस्त भए । अनि आशा जिल्लामा किशोरी तालिमको कुशल प्रशिक्षक बनिन् । अहिले उनी ढुक्कसँग तालिम दिन निस्किन्छिन् । धेरै किशोरीहरु उनलाई गुरु मान्छन् ।९ कक्षा अध्ययनरत देवचुलीकी शुष्मा पोख्रेललाई पनि घर परिवारले कुरा नबुझ्दा सधैँ तनाव हुन्थ्यो । घरबाटै छोरीको क्षमतामाथि अबिश्वास भएपछि बाहिर पनि खुलेर बोल्न धक लाग्थ्यो । बिद्यालयका कार्यक्रममा उनी अघि सर्दैनथिन् । उभिएर बोल्न डराउँथिन् । बाल क्लवमा बस्नुपर्दा धेरै बोल्नु नपर्ने उपाध्यक्ष, सदस्य जस्ता पद रोज्थिन् । आठ महिना यता भने उनको जीवनशैली बदलिएको छ । अहिले उनी आफू मात्रै होइन अन्य किशोरीलाई समेत सशक्त पार्न गाउँगाउँ छिरेकी छिन् ।उनी बालिका सशक्तिकरणको प्रशिक्षक भएकी छिन् । बालिकालाई आत्मरक्षा तालिम दिन्छिन् । प्रशिक्षक भएर धेरै साथीहरुको अगाडि उभिदा पनि उनी कुनै अप्ठेरो महशुस गर्दिनन् । अहिले बाल क्लवमा पनि धेरै बोल्नुपर्ने, सक्रिय हुनुपर्ने सचिव पदमा बसेकी छिन् । ‘पहिले धेरै बोल्नु नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । बोल्नेभन्दा लुकेर बस्थें,’ उनले भनिन्,‘अहिले अगाडि सर्छु, अरुलाई पनि बोल्न सिकाउँछु । घरबाट पनि बाहिर निस्कदा पहिलेजस्तो डराउनु हुन्न ।’

९ कक्षामै पढ्ने सुधा सुनारलाई पनि आजभोलि कामले भ्याइनभ्याइ छ । उनी बालिकाहरुलाई आत्मरक्षा, स्यानीटरी प्याड बनाउने र दुव्र्यसन नियन्त्रण सम्बन्धी तालिम दिन्छिन् । ‘शुरुमा तालिम लिन जाँदा घरबाट गाली गरे । पढाइ बिग्रिन्छ भनेर जान दिएनन्,’ उनले भनिन्,‘म लुकीलुकी तालिम लिन गएँ । अहिले तालिम दिन थालेपछि बिभिन्न कार्यक्रममा अतिथि बनाएर बोलाउँछन् ।’ राम्रो काम गरेको भनेर पत्रिकामा नाम छापिएपछि बुवाआमाले पनि राम्रो हौशला दिने गरेको उनले बताइन् ।११ कक्षा अध्ययनरत सपना पौडेलले ३ सय बढी बालिकाहरुलाई आत्मरक्षा तालिम दिएकी छिन् । पत्रपत्रिकामा किशोरी सशक्तीकरणका लेखहरु लेख्छिन् । रेडियोमा बालिका सशक्तिकरणबारे अन्तर्वाता दिन्छिन् । ‘पहिले पहिले समाजका अगुवाहरुले पनि हतोत्साहित गर्थे । सानो मान्छे धेरै बोल्नुहुँदैन भन्थे,’ उनले भनिन्,‘तर निराश नभएर अघि बढें । अहिले सबै कार्यक्रममा सहभागी गराउँछन् । अहिले त म पनि अगुवा भएकी छु ।’

श्रद्धा अर्याल ११ कक्षा पढ्छिन् । उनी किशोरी प्रशिक्षक हुन् । बालअधिकार, नेतृत्व, बालविवाह र आत्मरक्षाको तालिम दिन्छिन् । स्यानीटरी प्याड किनेर लगाउन नसक्ने विपन्न समुदायका किशोरीहरुलाई प्याड बनाउने तालिम दिन्छिन् । ‘गाउँका धेरै किशोरीले पहिले कपडाको प्याड प्रयोग गर्थे जुन स्वास्थ्यका लागि जोखिमपूर्ण थियो,’ उनले भनिन्,‘अहिले आफै बनाएर लगाउन थालेका छन् ।’ प्रशिक्षक भएपछि उनको आत्मबिश्वास बढेको छ । आत्मरक्षा तालिमले यौनहिंसाबाट कसरी बच्ने भन्नेबारे धेरै प्राबिधिक ज्ञान हासिल गरेकी छिन् । त्यही ज्ञान उनले अन्य किशोरीमाझ बाँडेकी छिन् ।९ कक्षा पढ्ने बिनिता श्रेष्ठ पनि किशोरीहरुको क्षमता विकासमा निरन्तर लागिरहेकी छिन् । बिभिन्न बिद्यालय पुगेर तालिम दिन्छिन् । उनी बालिकामाथि यौन हिंशा, बलात्कार र दुव्र्यवहारका घटना कसरी हुन्छन्, यस्ता घटनाबाट कसरी बच्ने, कसरी प्रतिकार गर्ने जस्ता सिपहरु सिकाउँछिन् । यसले उनको आत्मबिश्वास पनि बढेको छ । १२ कक्षा पढ्ने प्रिया पुन मगर, १० कक्षाकी संगम भुसाल, ९ कक्षाकी मधु देवकोटा, ९ कक्षाकै श्रृजना अर्याल लगाएत देवचुलीका दुई दर्जन बढी किशोरीहरुले बालिका सशक्तीकरणको नेतृत्व गरेका छन् ।पढाइको समय व्यवस्थापन गर्दै उनीहरुले किशोरीलाई क्षमता विकासको तालिम दिने गरेका छन् । यौन हिंसाबाट कसरी बच्ने, कसरी प्रतिकार गर्ने, कुनै बालिकालाई केही भैहाले तत्कालै कहाँ खबर गर्ने, कसको सहयोग लिने जस्ता कुरामा उनीहरु पूर्ण जानकार छन् । सबै बालिकालाई उनीहरु यस्तै सिपहरु दिएर आत्मबिश्वासी बनाइरहेका छन् । कनालन र जागृती बाल तथा युवा सरोकार नेपालले शुरुमा उनीहरुलाई प्रशिक्षक तालिम दिएको थियो । त्यसपछि तालिमको व्यवहारिक प्रयोग गर्न गाउँगाउँ पठाएको थियो । ‘बालिकाहरुलाई सशक्तिकरण गरौं, समृद्ध नेपाल निर्माण गरौं’ भन्ने मुख्य नाराका साथ बालिका सशक्तिकरण कार्यक्रम थालिएको जागृती बाल तथा युवा सरोकार नेपालका कार्यक्रम संयोजक दिपक शर्माले बताए । उनीहरुले बिद्यालय र समुदायमा पुगेर तालिम दिन थाले । निरन्तर तालिम दिने काममा सहभागी भएपछि उनीहरुको आत्मबिश्वास बढ्दै गयो ।तालिम लिंदा र दिंदा पढाइमा पनि सुधार भएको किशोरीहरुको अनुभव छ । पहिले बोल्न नसक्दा, नजानेका कुरा सोध्न नसक्दा र आफ्नो क्षमता नचिन्दा पढाइमा पनि पछि परेको ८ कक्षा अध्ययनरत प्रेरणा अज्र्यालको अनुभव छ । ‘हाम्रो घरमा तीन छोरी मात्रै छौं । छोरी मात्रै भएको घरमा प्रगति हुँदैन भनेर गाउँ समाजले हाम्रो कुरा काट्छन्,’उनले भनिन्,‘यसले हामीलाई निराश बनाउँथ्यो । केही गर्न सक्दैनौं की जस्तो लाग्थ्यो । तालिमको प्रशिक्षक भएपछि आत्मबिश्वास बढेको छ । पढाइ पनि राम्रो भएको छ ।’ पहिले ७१ प्रतिशत मात्रै नतिजा हासिल गरेकी अज्र्यालले अहिले ८७ प्रतिशत ल्याएकी छिन् ।किशोरीहरुको सशक्तिकरणले छोरीप्रतिको सोचाई बदल्न महत्वपूर्ण भूमिका खेलेको कालिका मावि बिशालटार देवचुलीकी शिक्षिका सितादेवी पौडेलले बताइन् । ‘समाजमा छोरीलाई सजिलै बिश्वास गरिदैन । छोरीलाई आफै उभिन दिईदैन,’ उनले भनिन्,‘अहिले किशोरीहरु बिभिन्न बिषयका प्रशिक्षक भएर समाजमा स्थापित भएपछि सबैले पत्याएका छन् । उनीहरुको क्षमताले सबैलाई हौसला थपेको छ ।’ विद्यालयमा पनि उनीहरु सबै कामको अगुवा भएको पौडेलले बताइन् ।बिद्यालयका कार्यक्रममा सहभागी हुन डराउने बालिकाहरु अहिले हरेक काममा नेतृत्व गर्न अग्रसर भैरहेको नेपाल मावि केउरानीकी शिक्षिका सरस्वती अर्यालले बताइन् । ‘पहिले बालिकाहरु लजाएर बस्थे । आफूलाई परेका समस्या राख्न सक्दैनथे,’ उनले भनिन्,‘अहिले समूहमा नै समस्याबारे छलफल गर्ने र सामूहिक समाधानको उपाय खोज्ने गर्छन् । घरपरिवार र बिद्यालयले पनि उनीहरुलाई सहयोग गरिरहेका छन् ।’ भिमसेन माविकी शिक्षिका सरिता शर्मा, जनज्योती माविकी चन्द्रकला पाण्डे, देवचुली माविकी लक्ष्मी पुडासैनी र सकला माविकी उमा सिग्देल पनि आफ्ना बिद्यार्थीहरुमा आएको परिवर्तन देखेर निकै सन्तुष्ट छिन् ।

छोरीहरुको कामबाट अभिभावक पनि प्रभावित भएका छन् । आफूले पढ्न नपाए पनि छोरीले पढेर समाजमा स्थापित हुने काम गरेको देवचुली १० की अभिभावक तकमाया थापा मगरले बताइन् । उनकी छोरी मोतिसरा ९ कक्षा पढ्छिन् । ‘छोरी आत्मरक्षा तालिमको प्रशिक्षक छिन् । गाउँगाउँमा पुगेर किशोरीलाई तालिम दिन्छिन् । उनको आत्मबिश्वास बढेको छ,’ उनले भनिन्,‘हाम्रो पालामा छोरीलाई पढाउने चलन थिएन । घरबाट निस्कन पनि पाइदैनथ्यो । छोरीहरु हामीभन्दा प्रगति गरुन् भनेर हौशला दिइरहेका छौं ।’ गाउँसमाजमा छोरीको कामको राम्रै प्रशंसा भैरहेकाले आफूलाई सन्तोष मिलिरहेको उनले बताइन् ।आत्मरक्षा तालिमले किशोरीहरुमा क्रान्ति नै आएको कानूनी लडाई लडेर नेपालमै पहिलो बाल क्लव स्थापना गर्ने जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताए । ‘बिभिन्न ठाउँमा बालिका, किशोरीमाथि भैरहेका यौनहिंशाका घटनाले धेरैलाई निराश बनाएको पाइयो । छोरी भएकोमा धिक्कार मानेर बसिरहेको पनि पाइयो,’ उनले भने,‘यस्तो बेला उनीहरुलाई सशक्तिकरण गरेर आफ्नो क्षमता चिन्नसक्ने बनाउनु महत्वपूर्ण हुन्छ । पूर्वी नवलपरासीका किशोरीहरुले यस्तो कामको अगुवाई गरेका छन् ।’

किशोरीहरुले बेलाबेला आफ्ना कामहरुको समिक्षा गर्दै आगामी योजना तय गर्ने गरेका छन् । किशोरीहरुको सिकाई उत्साहजनक रहेको प्रशिक्षक निरज न्यौपानेले बतँए । ‘शुरुमा प्रशिक्षक तालिम लिंदा र अहिलेको अबस्था हेर्दा धेरै अन्तर देखियो,’ उनले भने,‘किशोरीहरुले आफ्नो क्षमता चिनेका छन् । आत्मरक्षा गर्न र अरुलाई यसतर्फ प्रेरित गर्न सफल भएका छन् ।’ किशोरीहरुले स्थानीय तह, बिद्यालय र अन्य सरोकारवाला निकायहरुसँग आफै समन्वय गरेर काम गर्न थालेको अर्का प्रशिक्षक दिपक बस्यालले बताए । ‘बिद्यालय पढिरहेका बालिकाहरुले यती धेरै कामको नेतृत्व गर्नसक्नु धेरै ठूलो उपलब्धी हो,’ उनले भने,‘यसले धेरै बालिकाहरुको आत्मबल बढाएको छ ।’

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस