घोराही, १३ चैत । महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको महिला पुनर्स्थापना केन्द्र ओरेक दाङले एक वर्षमा झण्डै २ सय महिला हिंसाका मुद्दाहरु आएको बताएको छ । घरेलु हिंसादेखि अदालतको फैसला कार्यान्वयन नभएका सम्म गरी १ सय ८१ मुद्दाहरु कार्यालयमा दर्ता भएको ओरेकले जनाएको छ ।

ओरेकले बुधबार घोराहीमा आयोजना गरेको वार्षिक समीक्षा तथा योजनासम्बन्धी समन्वय बैठकमा पेश गरेको विवरण अनुसार सबैभन्दा धेरै ९६ वटा घरेलु हिंसामा मुद्दाहरु रहेका छन् । त्यसैगरी, ३० वटा जबरजस्ती करणी, १२ वटा बालविवाह, ११ वटा बहुविवाह, ७ वटा यौनहिंसा, ५ वटा जवरजस्ती करणी उद्योग, ४ वटा लेनदेन, ३ वटा बेचबिखन जोखिमका मुद्दाहरु ओरेकमा आएको जिल्ला संयोजक ईश्वरी थापाले जानकारी दिनुभयो ।

त्यसैगरी, ४ वटा अलपत्र अवस्थामा भेटिएका, ३ कुटपिट, २ बालबिज्याई र बोक्सी आरोप, आत्महत्या र फैसला कार्यान्वयन नभएको भनी एक एक वटा मुद्दाहरु ओरेकमा आएको तथ्यांकमा रहेको छ । ती मुद्दाहरुलाई ओरेकले न्यायिक निकाससम्म पुग्नका लागि आवश्यक सहयोगसँगै जोखिममा परेका महिलाहरुलाई सुरक्षा आबास गृहमा राखेर परामर्श गरिरहेको समेत जनाएको छ ।

साथै महिला हिंसा बिरुद्ध र लैङगिक समानताका लागि निरन्तर गाउँगाउँमा कार्यक्रमहरु गरिरहेको ओरेकले बताएको छ । साथै ओरेकले घोराही उपमहानगरका वडा नम्बर २, ४, १३, १५ र १६ मा कार्यक्रम सञ्चालन गर्न लागेको र करिब पौने ४ लाखको बजेट रहेको बारेमा नगरलाई जानकारी गराएको छ ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले स्थानीय सरकारसँग कार्यक्रम र बजेट स्वीकृत लिएर मात्रै कामहरु गर्न आग्रह गर्नुभयो । राज्यको नीतिलाई पालना गर्दै लैङ्गिक समानता कायम गर्ने खालका कार्यक्रमलाई अघि बढाउन गैरसरकारी संस्थाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले समन्वय गरेर काम गर्न सुझाब दिनुभएको हो ।

साथै उहाँले चेतनास्तर कम भएका ठाउँमा हिंसा, अधिकार हनन् हुने भन्दै उहाँले अब आवस्यकतामा आधारित कार्यक्रमहरुको तर्जुमा गरेर अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले वडा तहबाट कार्यक्रम समावेश गरेर नगरमा ल्याउन आग्रह गर्नुभयो । बिन्दु शर्माको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण दीपा धितालले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस