घोराही, १९ चैत । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालको २८औं स्थापना दिवस घोराहीको बाह्रकुने दहमा अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरुले ओरेकले लैंगिक हिंसा न्युनीकरण, हिंसापीडितहरुका लागि न्याय र प्रजनन् स्वास्थ्यमा सराहनीय काम गरेको भन्दै प्रशंसा गरेका थिए । लामो समयदेखि जिल्लामा हिंसा पीडितहरुको पक्षमा काम गर्दा थुप्रै चुनौति खेप्नु परे पनि थप ऊर्जाका साथ काम गर्न ओरेकलाई शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले सामाजिक मेलमिलापले समाजको विकास हुने भन्दै आपसी प्रेमलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले मानसिक स्वास्थ्य स्वस्थ हुनका लागि आधारभूत आवश्यकताको पूर्ति पहिलो शर्त भएको बताउनुभयो । आधारभूत आवश्यकता पूर्ति नहुँदा मानिसमा विभिन्न तनाब उत्पन्न हुने बताउँदै नेपालीले यसको पूर्तिका लागि सबै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । मानिसमा नकारात्मक भावनाको विकास हुनाले हिंसा बढिरहेको बताउँदै उहाँले सकारात्मक भावना जगाउने खालका कार्यक्रममा ध्यान दिन आग्रह गर्नुभयो । एक्लो प्रयासमा कुनै पनि काम सफल नहुने भन्दै उहाँले सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

ओरेककी दाङ जिल्ला संयोजक ईश्वरी थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नेपाली काँग्रेसका जिल्ला उपसभापति कमानसिंह भारती, तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक प्रमुख श्याम डाँगी, दङ्गीशरण गाउँपालिकाकी उपप्रमुख पिमा खड्का, महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्य, जिल्ला अध्यक्ष हुमा डिसी, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य जानका रेग्मी, घोराही उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष भीमबहादुर सार्की, नगर स्वास्थ्य इकाइकी इन्चार्ज राधा पौडेल, सिसा नेपालकी साजिदा सिद्धिकीलगायतले बोल्नुभएको थियो ।उक्त अवसरमा ओरेककी दाङ जिल्ला संयोजक ईश्वरी थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अधिकृत दीपा धितालले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रहरी, प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार तथा हिंसा पीडितहरुको सहभागिता थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस